प्रदेश लोकसेवा आयोग विधेयक पारित

विराटनगर, १० भदौ : प्रदेश नम्बर १ को प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ बहुमतले पारित भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री कार्कीले विधेयक संवैधानिक आधार र मापदण्डमा आधारित भएर आएको बताउनुभयो । उहाँले विधेयकलाई लचिलो र व्यावहारिक बनाउन प्रयास भएको छ भन्दै यसका पदाधिकारीहरु समावेशी आधारमा एक महिलासहित तीन जनाको हुने जानकारी दिनुभयो ।

प्रदेश लोकसेवा आयोग विधेयक न्याय, प्रशासन तथा विधायन समितिमा व्यापक छलफल गरी प्रतिवेदन समितिका सभापति इन्द्रमणि पराजुलीले सदनमा पेश गर्नुभएको थियो । उहाँले यो विधेयकको मस्यौदामा सात जना सदस्यले संशोधनका लागि प्रस्ताव दर्ता गराएको जानकारी दिँदै विज्ञ, आन्तरिक मामिला तथा कानूनमन्त्री, कानून सचिवहरुको व्यापक छलफल पछि सो विधेयक आएको बताउनुभयो ।

४० घरपरिवारलाई नागरिकता दिन माग    

प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले चुरेसँग जोडिएको मोरङको उत्तरी क्षेत्रमा बाढी र वर्षात्का कारण बाटोघाटो क्षतिग्रस्त बनेकाले मर्मत सम्भार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य गोपालचन्द्र क्षेत्रीले लागुऔषध नियन्त्रणमा प्रदेश सरकारले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिँदै धुलो र धुवाँका कारण विराटनगरको कोशी अस्पताल नजिकका पसलहरुमा पाइने खाद्यान्नको अनुगमन गर्न माग गर्नुभयो ।

अर्का सदस्य जयराम यादवले मोरङको रङ्गेलीस्थित रङ्गेली अस्पताल दिनदिनै जीर्ण बन्दै गएकाले अस्पताललाई तत्काल सुधार गर्न प्रदेश सरकारको ध्यानकर्षण गराउनुभयो । सदस्य राधा थापाले झापाको काँकरभिट्टामा पुल बन्दा सरकारले सात धुर जग्गा र रु सात लाख मुआब्जा दिने भने पनि पीडितहरुले सो अनुसार रकम नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहँले सो स्थानमा बसोबास गर्ने ४० घरपरिवारलाई तत्काल नेपाली नागरिकता प्रदान गर्न पनि सरकारसँग माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भदौ ११ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.