प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिद्वारा मस्यौदा पेश

विराटनगर, ४ चैत : प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को मस्यौदा पेश भयो । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले सो मस्यौदा पेश गर्नुभएको हो ।

आजैको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो । उहाँले विधेयकमा सैद्धान्तिक छलफलमा भाग लिने सदस्यहरुबाट आएका अमूल्य सझावले विधेयकलाई परिपक्व बनाउन मद्दत मिल्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सहकारी पनि एक पाटो भएकाले यसलाई बलियो र परिपक्व बनाउन सदस्यहरुका विचार र सैद्धान्तिक बहसले कानूनमा त्रुटि हुन रोक्ने विश्वास व्यक्त गर्नुभयो । सो विधेयकमाथिको छलफलमा १६ जना सदस्यले भाग लिनुभएको थियो ।

शून्य समय

प्रदेशसभाको बैठकको शून्य समयमा सदस्य ओमप्रकाश सरावगीले सङ्घीय सरकारले झापालाई पहाडी जिल्लामा गाभेकाले तराई भएर पनि यो जिल्लामा एक दिनअघि होली पर्व मनाउनुपर्ने बाध्यतालाई सच्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य कला घलेले उदयपुरमा वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका नैनाबहादुर पहरीलाई उचित उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

अर्का सदस्य राजन राईले डढेलोका कारण खोटाङमा घरबासविहीन परिवारलाई राहत एवं बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । सदस्य विमल कार्कीले उदयपुरमा नदीनालामा लगाइएको तटबन्धका तारजाली काटेर ढुङ्गा चोरी भइरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सूर्यमाराज राईले प्रदेशसभा सदस्यबाट विकास निर्माणमा पठाइएको योजनालाई गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीले तोकिएको स्थानमा नगरी अन्यत्र सार्ने परिपाटीलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.