प्रदेश परिषद् बैठक पुस दोस्रो साता

सुर्खेत, २९ मङ्सिर : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज भेट भएको छ । आज मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसँग उहाँकै कार्यकक्षमा भेट गर्नुभएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको प्रथम चौमासिक प्रगति अवस्था, समसामयिक गतिविधि र भावी योजनाका विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभयो ।

“प्रदेश सरकारले १० वटै जिल्लामा जिल्ला कार्यालय स्थापना गरी काम शुरु गरेको छ,” उहाँले भन्नुभयो, “नयाँ संरचना निर्माण, जनशक्ति अभाव र भौगोलिक विकटताका कारण अपेक्षित बजेट खर्च हुन सकेको छैन ।” प्रदेश सरकार एक जना कार्यालय प्रमुखले दुई–तीन जिल्ला हेर्नेगरी व्यवस्थापन गर्न र बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने मर्मका साथ अघि बढेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

आफ्ना कामकारवाही अघि बढाउने आवश्यकताबमोजिम कानून बनाइएको बताउँदै उहाँले अब तिनलाई कार्यान्वयनको चरणमा लैजान सरकार दत्तचित्त भएर लागिपरेको जानकारी गराउनुभयो । हाल प्रदेश सरकार बसेको सङ्घीय सरकारका भवन गुणस्तरिय नभएका जनाउँदै उहाँले प्रदेशका नयाँ संरचना निर्माण गर्न जग्गाका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर सङ्घीय सरकारमा पठाइएको तर हालसम्म कुनै जवाफ नआएको बताउनुभयो ।

प्रदेश प्रमुख कलौनीले स्थानीय सरकारलाई प्रदेश सरकारको बजेटबाट जोडे÷नजोडेका बारेमा मुख्यमन्त्रीसँग जानकारी लिनुभयो । जवाफमा मुख्यमन्त्री शाहीले संविधानतः सबै स्थानीय तथा सङ्घीय सरकारसँग समन्वय गरेर अघि बढिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको समृद्धि, विकास र सुशासनका विषयमा आगामी पुस १० गते प्रदेश परिषद् बैठक बसाल्ने तय गरिएको छ । त्यसमा परिषद्का सदस्यसहित सबै क्षेत्रका विज्ञ र सङ्घीय सांसद सहभागी गराउने तयारी भइरहेको छ ।

सरकारले आउँदो पुसको अन्तिम साता वा माघको पहिलो सातातिर प्रदेशसभा बैठक आह्वान गर्नेसमेत उहाँले प्रदेश प्रमुखलाई बताउनुभयो । सरकार उच्च गतिका साथ काम गर्न थाले पनि विभिन्न कानूनी अल्झन, संरचनागत तथा प्राविधिक समस्याले अपेक्षित बजेट खर्च हुन नसकेर दोस्रो चौमासिकसम्म खर्च ४५ प्रतिशत पु¥याउने उहाँले दाबी गर्नुभयो ।

कर्णालीमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाँज सञ्चालनदेखि एकल अधिकार बाहेकका कानून निर्माण, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सङ्घीय सरकारसँग अनुरोध गर्नुपर्ने तर सुनुवाइ नहुने समस्याले प्रदेश सरकारको प्रगति नदेखिएको उहाँको भनाइ थियो । कर्णालीसहित सुदूरपश्चिमका नागरिकको आकस्मिक उद्धारका लागि सुर्खेतलाई आधार बनाएर नेपाली सेनाका दुई हेलिकप्टर चौबिसै घण्टा तयारी अवस्थामा राख्न पहल गरिएको उहाँको भनाइ थियो । प्रदेश प्रमुख कलौनीले सङ्घीय सरकारका प्रतिनिधिका हिसाबले कर्णालीको विकास र समृद्धिका लागि आवश्यक पहल गर्ने जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.