‘विपद् दूत’ परिचालन गर्ने कर्णाली सरकारको तयारी

सुर्खेत, ३ कात्तिक : कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षभित्रै हरेक स्थानीय तहमा ‘विपद् व्यवस्थापन दूत’ परिचालन गर्ने तयारी गरेको छ । कर्णालीमा वर्षेनी विपद्बाट हुने धनजनको क्षति रोक्न विपद् प्रतिकार्यका लागि दूत परिचालन गरिने भएको हो ।

कर्णालीका ७९ वटै स्थानीय तहमा विपद् व्यवस्थापन दूतमा स्थानीय नागरिककै सहभागिता रहने विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

“कुनै ठाउँमा विपद्का घटना भए तत्काल उद्वार टोली पुग्न नसक्ने भएकाले स्थानीयस्तरमै दूत परिचालन गर्ने तयारीमा पुगेका छौँ,” उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन दूतले घटना भए तत्काल अबलम्बन गर्ने उपायका बारेमा तालीम, सामग्री पाउनेछन् ।” दूतहरुसँग नियमित रुपमा विपद्बारे समन्वय, प्रचारप्रसार गर्न सहयोगी टोली परिचालन हुने उहाँको भनाइ थियो ।

दूतमा कति जनाको टोली रहने र उनीहरुले के–कस्ता काम गर्ने भन्ने विषयमा छिट्टै टुङ्गो लगाइने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले एशियामै पहिलोपटक कर्णाली सरकारले विपद् बीमा कार्यक्रम लागू गरेको दाबी गर्नुभयो । उहाँले विपद् बाजा बजाएर नआउने भन्दै पूर्वतयारी गर्न सके जोखिमलाई न्यूनीकरणमा टेवा पुग्ने धारणा राख्नुभयो ।

दिवसका अवसरमा प्रदेश राजधानीमा प्रभातफेरीको आयोजना गरिएको थियो । त्यस्तै, जिल्ला समन्वय समिति नजिकैको मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्सम्बन्धी सामग्री तथा वृत्तचित्रको प्रदर्शनी गरेका थिए । सेनाले आगलागी भएमा उपलब्ध स्थानीय स्रोतसाधनबाटै कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अभ्यास गरेको थियो ।

प्रर्दशनीको मन्त्री भण्डारीका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा लगायतले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.