मुख्यमन्त्री शाहीद्वारा कर्मचारीलाई निर्देशन

सुर्खेत, ३ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले नेपाल विद्युत् प्राधिकरण दैलेख–कालीकोट विद्युत् प्रशारण लाइन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरीसहितको कर्मचारी टोलीसँगको भेटमा विद्युत् लाइन विस्तार छिटै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा आयोजना प्रमुख चौधरीले विद्युत् प्रसारण लाइन विस्तारको कार्य तीव्रताका साथ अघि बढेको र बीचमा पर्ने केही रुख कटान तथा कालीकोट सदरमुकाम मान्मामा सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिनुभएको थियो ।

छलफलका क्रममै मुख्यमन्त्री शाहीले कालीकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका प्रमुखलाई फोन गरेर सबस्टेशनका लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गर्नुभएको थियो । “रुख कटानसम्बन्धी समस्या हल गर्न म आफैँ पनि पहल गर्छु” उहाँले भन्नुभयो, “तपाईहरु छ महिनाभित्रै कालीकोटमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा उपलब्ध गर्ने गरी काम गर्नुहोस् ।”

आयोजना प्रमुख चौधरीले सबस्टेशन निर्माणको कार्य जारी रहे पनि ११ केभिए क्षमताको विद्युत् सेवा छ महिनाभित्र कालीकोट सदरमुकाम मान्मामा उपलब्ध गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.