उत्कृष्ट कृषकलाई नगदसहित प्रमाणपत्र प्रदान

सुर्खेत, २० असार : कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ । कृषि पेशालाई सम्मान गरी कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउन मन्त्रालयले पुरस्कार वितरण गरेको हो ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सुर्खेतबाट छानिएका उत्कृष्ट कृषक, समूह र सहकारीलाई नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो । सुर्खेतका नौ वटा स्थानीय तहबाट दुई÷दुई जना छनोट गरेर जिल्लास्तरमा पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार र कृषक प्रोत्साहन कार्यक्रम गरेर ३३ जनालाई पुरस्कार प्रदान गरिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।

सो पुरस्कारअन्तर्गत स्थानीयतहबाट गाई, भैँसी, बाख्रा, कुखुरा र माछा पालन व्यवसाय सञ्चालन गरेका कृषकमध्येबाट एक जना महिला र पुरुष गरेर १८ जना उत्कृष्ट कृषक, जिल्लास्तरीय गाई, भैँसी, बाख्रा, कुखुरा र माछा पालन व्यवसाय सञ्चालन गरेका कृषक, समूह, सहकारी र कृषि फार्ममध्येबाट चार जना र उत्पादनका आधारमा दिइने प्रोत्साहन कार्यक्रमअन्तर्गत जिल्ला भरीबाट प्रतिनिधित्व हुने गरी ११ जना सफल कृषकलाई पुरस्कार प्रदान गरिएको गिरीले जानकारी दिनुभयो ।

स्थानीयतहबाट छानिएका मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार १८ जना कृषकलाई प्रति व्यक्ति रु १५ हजारका दरले रु दुई लाख ७० हजार, उत्पादनका आधारमा दिइने प्रोत्साहनअन्तर्गत रु चार लाख २९ हजार र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जिल्लास्तरकालाई रु एक लाख ३५ हजार प्रदान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्री केसीले कर्णालीमा कृषिमा आर्कषण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न मन्त्रालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कृषि पेशा र कृषकलाई हेला गर्ने गरिएको भन्दै उहाँले अब सबैले कृषिमा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कर्णालीका १० जिल्लाका उत्कृष्ट कृषकहरुबाट एक महिला र एक पुरुष गरेर २० जना प्रदेशमा आउने तथा उनीहरुमध्येबाट प्रदेशको उत्पादक नायक र नायिका घोषणा गरिने उहाँले वताउनुभयो । प्रदेशस्तरीय उत्कृष्ट नायक र नायिकालाई जनही रु दुई लाख ५० हजार सम्मानस्वरुप पुरस्कार प्रदान गरिने मन्त्री केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.