सरकारको योजना र प्राथमिकतामा काम गर्न आग्रह
सुर्खेत, १५ असार : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई आफूखुशीका योजना लिएर कर्णालीमा काम नगर्न सुझाउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सरकारको नीति तथा योजनाका बारेमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारको योजना र प्राथमिकतामा टेकेर काम गर्न आग्रह गर्नुभयो ।
“आफूखुशी काम गर्ने प्रवृत्ति रहँदासम्म कुनै पनि कामको नतिजा देखिँदैन”, उहाँले भन्नुभयो, “कर्णालीको विकासको प्राथमिकता सडक र विद्युत् रहेकाले यसैमा लगानी गर्नुस् ।”
गैरसरकारी संस्थामार्फत आउने बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको औँल्याउँदै मुख्यमन्त्री शाहीले प्रश्न गर्नुभयो, “तपाईंहरु चामल र जङ्कफुड वितरणमा किन बजेट खेर फाल्नुहुन्छ ? बरु स्थानीय खाद्यान्नको उत्पादन, सिँचाइ, कृषि सामग्री वितरणका क्षेत्रमा काम गर्नुस् ।” वितरणमुखी कार्यक्रमले जनतामा परनिर्भरताको विकास गर्ने भन्दै उहाँले उत्पादन तथा स्वरोजगारमुखी कार्यक्रममा जोड दिन सुझाउनुभयो ।
सरकारको नीति, योजना र प्राथमिकताको क्षेत्रमा काम गर्ने संस्थालाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएका उहाँले प्रदेश सरकारले गैरसरकारी संस्थाको कामको अनुगमन, मूल्याङ्कन तथा नियमनलाई प्रभावकारी बनाइने जनाउनुभयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले सरकार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीच शुरु भएको छलफल र अन्तरक्रियाले कर्णालीको विकास र समृद्धिका लागि दुवै पक्षलाई पारदर्शी जवाफदेही बनेर साझेदारीताका आधारमा काम गर्न मद्दत पुग्ने बताउनुभयो ।
मन्त्री रावलले अब विकास र समृद्धिको राष्ट्रिय एजेण्डामा केन्द्रित भएर काम गर्न सके मात्र जनअपेक्षा पूरा हुने बताउनुभयो । जनचाहनाअनुरुप मुलुकमा सङ्घीयता लागू भएको बताउँदै उहाँले सरकारको प्रणालीलाई बलियो बनाएर मात्रै जनताको विकास र समृद्धिको सपना पूरा हुने विचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि छ ‘ब’को नीति लिन आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभयो । आफूले ‘बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन सम्मिलित नीति लिन सरकारलाई सुझाव दिँदा पनि प्रदेश सरकार गम्भीर नभएको उहाँको आरोप थियो ।
छलफल तथा अन्तरक्रियामा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा, प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकाया, प्रमुख सचिव केवलप्रसाद भण्डारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठनका पदाधिकारी सहभागिता थियो ।
