रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव

सुर्खेत, २१ जेठ : कर्णालीबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले १० वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सुझाव सङ्कलन कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनताको जीवनमा परिवर्तन देखिने गरी सरकारलाई काम गर्न सुझाव दिनुभयो । तथ्याङ्कमा देखाएर मात्र नहुने भन्दै बजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने उहाँको भनाइ थियो । “कर्णालीमा भौतिक पूर्वाधार विकास प्राधिकरण, आयुर्वेदिक विकास आयोगजस्ता संरचनाको खाँचो छ”, उहाँले भन्नुभयो, “पूर्वाधारको तीव्र विकास र बहुमूल्य जडीबुटीको उपयोग गर्ने समृद्धिको आधार हो, आगामी नीति तथा कार्यक्रममा प्रदेश सरकारले उचित ध्यान देओस् ।”

दैलेख १ का प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले महत्वकांक्षीभन्दा पनि प्रदेशको वस्तुगत आवश्यकता नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी प्रशासनलाई विश्वासमा लिएर काम गर्न सुझाव दिनुभयो । राष्ट्रियसभाका सांसद जीवन बुढाले कर्मचारी, कानून र संरचना अभावका बीच प्रदेश सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको दाबी गर्नुभयो । “एक वर्षे अनुभवका आधारमा सरकारको कार्यसम्पादन आगामी वर्षदेखि नतिजामुखी र प्रभावकारी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

दैलेख २ का प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमूलक आयोजना समावेश गर्न जोड दिनुभयो । कार्यक्रममा सांसदले कर्णालीमा रहेको जलविद्युत्, पर्यटन, कृषि, खनिज र जडीबुटीको उचित परिचालनले प्रदेशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए । कर्णालीको विकासका लागि आफूले केन्द्र सरकारसँग आवश्यक दबाब सिर्जना गरिरहेको सङ्घीय सांंसदको भनाइ थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै क्षेत्रको रायसुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाकासहितको नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले चालू आवमा कानून, संरचना र कर्मचारी अभावका कारण जनताको अपेक्षाबमोजिम विकास बजेट खर्च गर्न नसकेको प्रष्ट पार्नुभयो । उहाँले आगामी वर्ष ठूला र परिणाममुखी योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.