‘प्राज्ञिक क्षेत्रले भाषा र संस्कृति संरक्षणमा लाग्नुपर्छ’ : मुख्यमन्त्री शाही

सुर्खेत, २७ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राज्ञिक क्षेत्रले भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँद्वारा आयोजित ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्गोष्ठी’ कार्यक्रमको उद्घाटन समारोहमा उहाँले पछिल्लो समय नेपाली संस्कृति हराउँदै गएको बताउनुभयो । “नेपाली भाषाको उत्पत्ति कर्णालीको सिञ्जाबाट भएको हो तर यही भाषा सङ्कटमा पर्दैछ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “आयातीत भाषा र संस्कृति मौलाउँदै गएको छ ।”

भाषा र संस्कृति सभ्यताको मुख्य आधार भएको बताउँदै उहाँले भन्नुभयो, “हामीले नेपालीमा कुरा गरेर भारतीय संस्कृतिमा निर्भर हुने जीवनशैलीबाट मुक्त हुनुपर्छ, होटलमा राखिने मेनुहरु नेपालीमा लेखिनुपर्दछ ।” साहित्यकारहरुले शब्दको आविष्कार गरी सांस्कृतिक विकासबाट सभ्यताको बिजारोपण गर्न सके मुलुक समृद्धिमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ओझेलमा परेको भाषा, कला, संस्कृति र साहित्यको जगेर्नाका लागि गोष्ठी कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो । सामाजिक विकासमन्त्री दल रावलले नेपाली भाषाको उद्गमस्थलको सभ्यता, संस्कृति, कला, साहित्य, इतिहास र पुरातात्विक सम्पदाको खोज अन्वेषणका लागि कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउन थालेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँका सदस्यसचिव डा जगतप्रसाद उपाध्यायले बहुभाषिक, बहुसांस्कृतिक क्षेत्रको अनुसन्धान र अन्वेषणबाट पृष्ठपोषण लिएर सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशन गर्ने उद्देश्यले संगोष्ठीको अभियानमा लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सातै प्रदेशको ग्रन्थबाट एक नेपाल दर्पण निकाल्छौँ र त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरी विश्व समुदायमा पु¥याउँछौँ ।”

सुर्खेती कल्याण समाज काठमाडौँका सभापति तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव डा जीवेन्द्र गिरीले अध्ययन, खोज, अनुसन्धान गर्नेहरुको उर्वर भूमि कर्णाली भएको उल्लेख गर्नुभयो । शनिबार कर्णाली प्रदेशको साहित्यिक घोषणापत्र जारी गरिने उहाँले जानकारी गराउनुभयो ।

संगोष्ठीमा प्रज्ञा–प्रतिष्ठान, मध्यपश्चिम विश्वविद्यालय, शिक्षा क्याम्पस सुर्खेत, साहित्यक सङ्घसंस्था र कर्णाली प्रदेशभरिका साहित्यिकार, सर्जक स्रष्टाहरुको उल्लेख्य सहभागिता रहेको छ ।

चार विभागको कार्यपत्र प्रस्तुत    

नेपाल प्रज्ञा–प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय संगोष्ठी’ कार्यक्रममा चार विभागको कार्यपत्र प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका ११ विभागमा चार विभाग यतिबेला कर्णालीमा सहभागी भएका छन् ।

प्रतिष्ठानका विभागीय प्रमुखका हैसियतले प्रा डा हेमनाथ पौडेलले ‘साहित्य (पद्य)’, प्रा डा गोपीन्द्र पौडेलले ‘समालोचना र निबन्ध’, डा देवी नेपालले ‘लोकवार्ता तथा बाल साहित्य’ र विष्णुप्रसाद पराजुलीले ‘दर्शन’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उपप्रध्यापक एवं साहित्यकार डा दीपक गौतमद्वारा लिखित तीन कृतिहरु ‘विद्यार्थी र नेतृत्व निबन्ध सङ्ग्रह, पचहत्तरका कविताहरु र महाकाव्य अध्ययन’को विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.