‘केपिएल–टु’ को खेल तालिका सार्वजनिक
सुर्खेत, ७ वैशाख : यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टु) को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीले आज खेल तालिका सार्वजनिक गरेको हो ।
उद्घाटन खेल कर्णाली–११ र लालीगुराँस क्रिकेट एकेडेमीबीच हुनेछ । एकेडेमीका संयोजक रेशम शाहीका अनुसार विजेताले रु पाँच लाख पुरस्कार पाउनेछ । उपविजेताले रु दुई लाख, सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले रु २०÷२० हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु तीन हजार ५०० पुरस्कार पाउनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मीको कप्तानी विनोद भण्डारी, नेपाल पुलिसको कप्तानी मञ्जित श्रेष्ठ, एपिएफ क्लबको कप्तानी वसन्त रेग्मी, कर्णाली–११ को कप्तानी रवीन्द्रजंग शाह, लालीगुराँस क्रिकेट क्लब झापाको कप्तानी मेहबुब आलम, हिमालयन क्रिकेट एकेडेमी काठमाडौँको कप्तानी सुरेन्द्र चन्द, महेन्द्रनगर क्रिकेट क्लबको कप्तानी सुशील खड्का तथा मध्यपश्चिम क्रिकेट एकेडेमीको कप्तानी अजय साहनीले गर्नेछन् ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि मोटरसाइकल, एलइडी टेलिभिजनलगायत पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार ‘केपीएल–टू’ को मुख्य प्रायोजकका रुपमा वाईवाई चाउचाउ रहेको छ ।
कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण वीरेन्द्रनगरस्थित कालुञ्चोक क्रिकेट मैदानमा वैशाख २१ गतेसम्म चल्नेछ ।
