कर्णाली प्रदेश सरकारद्वारा चार निर्णय

सुर्खेत, २७ चैत : कर्णाली प्रदेश सरकारको ४०औँ मन्त्रिपरिषद बैठकले विभिन्न चार वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रतिपरिवार रु तीन लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा केही दिन अगाडि हावाहुरी, असिनाबाट पीडितका लागि रु दुई करोड राहतस्वरुप उपलब्ध गराउने, सुर्खेतमा निर्माणाधीन गोदाम घरको बाँकी निर्माण कार्य सम्पन्न गर्ने र प्रदेशसभाको हिउँदे अधिवेशन २७ गते अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको केसीले जानकारी दिनुभयो ।

“कर्णालीका बाढीपहिरो पीडितलाई प्रतिपरिवार घर निर्माणका लागि रु तीन लाख उपलब्ध गराइनेछ, जमीन भएको हकमा घर निर्माण गर्न तत्काल पहिलो किस्ता र जमीन नभएकाको सन्दर्भमा सरकारले जमीनको व्यवस्था गरी रकम उपलब्ध गराउने छ”, उहाँले भन्नुभयो ।

सरकारले प्रदान गर्ने रकम जनता आवासको मोडेलमा एकीकृत बस्ती विकास गर्ने तरिकाले दिइने र उक्त कार्यका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी प्रदेश सरकारले घरको स्टमेट गरी कामलाई अगाडि बढाउने मन्त्री केसीले बताउनुभयो ।

मन्त्री केसीका अनुसार प्रदेशका विभिन्न जिल्लामा हावाहुरी, असिनापीडितका लागि १५ दिनभित्र लगत सङ्कलन गर्ने र राहत उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.