प्राङ्गारिक कृषि विधेयकको स्वागत

सुर्खेत, २७ फागुन : कर्णाली प्रदेशसभाको बैठकमा सांसदहरुले प्राङ्गारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठकमा ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गर्नुभएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य गोपाल शर्माले कर्णाली प्रदेश सरकारले नागरिकका जीवनसँग चिन्तित भएर ऐन ल्याएको भन्दै सरकारलाई धनयवादज्ञापन तथा ऐनको स्वागत गर्नुभयो । यसलाई सार्थकता दिन स्थानीय उत्पादनमा प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ, विषादीमुक्त समाज बनाउनुपर्छ अनि मात्र ऐनले लिएका उद्देश्यहरु पूरा हुनेछ ।” प्रदेशलाई समृद्ध र सुखी बनाउन अर्गानिक उत्पादनमा जानुको विकल्प नरहेको शर्माको भनाइ छ ।

त्यस्तै सांसद यज्ञबहादुर विसीले कर्णालीको पहिलो आधार भनेको कृषि पेशा भएकाले त्यसलाई फराकिलो बनाउन सरकारले ल्याएको प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कोशेढुङ्गा साबित हुने बताउनुभयो ।

रासायनिकबाट उत्पादन भएका कृषि वस्तुको विस्थापन गरी अर्गानिक उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । स्थानीय उत्पादनलाई वृद्धि नगरी किसानको जीवन स्तर माथि उठ्ने भन्दै गरीब किसान लक्षित अर्गानिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । पहिला हेला गरिएका स्थानीय उत्पादनलाई यो ऐनले प्रोत्साहन गर्ने सांसद विसीले विश्वास गर्नुभयो ।

प्राङ्गारिक कृषि ऐन नेपालकै पहिलो : मन्त्री केसी 

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने सरकारको पहिलो सङ्कल्प भएकाले नेपालको इतिहासमा पहिलो पटक कर्णालीमा यो ऐन ल्याइएको जानकारी दिनुभयो ।

अबका हरेक बजेट अर्गानिकसँग सम्बन्धित हुनुपर्ने बताउँदै मन्त्री केसीले कर्णालीको अर्गानिक उत्पादनलाई वृद्धि गर्न प्रोत्साहन अनुदानको नीति लिइएको जानकारी दिनुभयो । किसानले उत्पादन गरेका कृषि वस्तुको बजारीकरण र प्रवद्र्धनमा सरकारले सहयोग गर्ने बताउनुभयो । विषादीलाई निरुत्साहित गर्न जैविक मल र जैविक विषादीको उत्पादनलाई जोड दिएको उहाँको भनाइ थियो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन अब पारिवारिक खेतीको शुरु गर्नुपर्ने मन्त्री केसीको तर्क थियो ।

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण 

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठकमा बोल्ने सांसदहरुले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र सडक निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा सांसद मीनासिंह रखालले प्रदेशभित्रका विभिन्न सडक धुलाम्मे भएको भन्दै यसलाई तत्काल मर्मतसम्भार गर्न माग गर्नुभयो ।

सांसद अमृता शाहीले सुर्खेतको भेरीगङ्गा नगरपालिकाको रामघाटको पुलको शिलान्यास गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य शुरु नहुँदा पूर्वी सुर्खेतवासीले दुःख पाएको भन्दै तत्काल निर्माण कार्य शुरु गर्न माग गर्नुभयो ।

सांसद कौशिलावती खत्रीले उपचारको अभावमा ग्रामीण भेगका सुत्केरी महिलाले ज्यान गुमाउनु परेको भन्दै गाउँमै उपचारको व्यवस्था तथा आपत्कालीन स्वास्थ्य सेवा प्रत्याभूति दिलाउन माग गर्नुभयो । सांसद दानसिंह परियारले अब बन्ने हरेक संरचना अपाङ्गमैत्री बन्नुपर्ने बताउनुभयो ।

त्यस्तै सांसद वद्यमी कुवरी बोहराले कर्णालीको जडीबुटीलाई व्यवस्थित बनाई प्रदेशको आर्थिक अवस्था माथि उकास्न तत्काल कानून बनाउन माग गर्नुभयो । सांसद ठम्बर विष्टले बाढीपीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.