‘संघीयता टिक्न नदिन नियोजित प्रचारबाजी’ : मुख्यमन्त्री शाही

दुल्लु, २४ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश नयाँ संरचनामा गइसके पनि संघीयता टिक्न नदिने तत्वहरुले नियोजित रुपमा प्रचारबाजी गरी जनतालाई तर्साउनु गलत भएको बताउनुभएको छ ।

दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेशस्तरिय उद्यम, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला’को आज उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “संघियता असफल पार्ने केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेकाले त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ ।”

संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो “प्रशासनिक संरचना तयार भइसकेका छैनन्, कर्मचारीको अभाव कायमै छ, कर्मचारी समायोजन प्रक्रिया अगाडी बढीसकेको छ, समायोजन मार्फत सबै प्रशासनिक संरचनामा कर्मचारीको व्यवस्थापन गर्नेछौ ।”

दैलेख महोत्सव २०७५ तथा कर्णाली प्रदेश स्तरीय उद्यम, कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला उदघाटन गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभा सदस्य धर्मराज रेग्मी । तस्वीर: हिक्मत बहादुर नेपाली, दैलेख

पञ्चकोशी बृहत गुरुयोजना बनाउनुका साथै दैलेखको गढी र दुल्लु क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले नीजि क्षेत्रका लागि लगानी मैत्री वातावरण बनाउन विशेष तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो “कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा प्रदेश सरकारले गरिसकेको छ ।”

कार्यक्रममा सांसद पार्वतीकुमारी विशुन्के, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मी, प्रदेशसभा सदस्य धर्मराज रेग्मी, अमर बहादुर थापा, दान सिंह परियार, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही लगायतले कर्णाली विकासका विषयमा जोड दिनुभएको थियो ।

आगामी चैत ४ गतेसम्म संचालन हुने मेला कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने उदेश्य सहित आयोजना गरिएको संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.