जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै

खलङ्गा, १६ फागुन : जुम्लाको तातोपानी गाउँपालिकाले जुम्ली खस भाषा स्थानीय पाठ्यपुस्तक निर्माणको ८० प्रतिशत काम सकाएको छ । गाउँपालिकाभरि जम्मा २५ विद्यालयमा अध्ययनअध्यापन गर्नका लागि पाठ्यपुस्तक तयारी थालिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागार्इंको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यपुस्तक तयारी समितिले काम गरिरहेको छ । आगामी चैत महीनादेखि विद्यालयमा पढाइ हुने गरी पाठ्यपुस्तक तयारीको कामलाई तीव्रता दिइएको अध्यक्ष न्यौपानेले अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय खष भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुनेछ ।” तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उहाँको भनाइ छ । अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययनअध्यापन गर्ने तयारी थालेको छ ।

न्यौपानेले स्थानीय तहलाई आफूअनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको जानकारी दिनुभयो । पाठ्यपुस्तक निर्माणको जिम्मेवारी पाउनुभएका वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक चौलागार्इंले स्थानीय खस भाषामा आधारित रहेर पाठ्यपुस्तक निर्माणको काम अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाठ्यपुस्तक निर्माणको काम ८० प्रतिशत सकिएको छ, बाँकी काम छिट्टै सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।” एक सय ७० पृष्ठको पुस्तकमा ४३ पाठ्यक्रम समावेश गरिएका छन् । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक तयारीको अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका पाठ्यपुस्तक निर्माण गर्ने पहिलो गाउँपालिका बन्नेछ । तल्लो कक्षादेखि पढाइ हुने गरी पाठ्यपुस्तक निर्माण गरिएको चौलागाईंले बताउनुभयो । विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माणले गाउँपालिकाको गरिमा बढाउने उहाँको भनाइ छ । यसै शैक्षिक सत्रदेखि तातोपानी गाउँपालिकाका सबै विद्यालयले स्थानीयस्तरको पाठ्यपुस्तकमा आधारित भई पठनपाठन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.