कर्णाली प्रदेश विपदको उच्च जोखिममा
सुर्खेत, २५ माघ : मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपदका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ ।
यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपद एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपदमा कर्णाली उच्च जोखिम रहेको बताउनुभयो ।
“वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णालीसहित सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिम छन्”, प्रमुख भण्डारीले भन्नुभयो, “यसलाई ध्यानमा राखेर तीनवटा प्रदेशको संयुक्त कार्याशला गोष्ठी कर्णालीमै राखेका हौँ ।”
केन्द्रमार्फत चलेको ‘विपत् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम’ २०७० बाट शुरु भई ०७५ साउन १ गतेबाट संरचना लागू भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “निजी तथा सरकारी अस्पताल, प्रतिष्ठानमा आइपर्ने विपत् प्रतिकार्यमा सहयोग पु¥याउने हेतुले कर्णालीमा कार्याशाला गोष्ठी गरेका छौँ ।”
उहाँले दाङ, नेपालगञ्ज, डडेल्धुराका लागि सामग्री उपलब्ध गर्ने र स्वास्थ्यकर्मीलाई तालीम दिने बताउनुभयो । सुर्खेतमा सञ्चालित चारदिने यो तालीमपश्चात यसलाई अभ्यासमा लैजाने उहाँको भनाइ थियो । तालीमबाट अस्पतालमा पूर्वतयारी र आपत्कालीन अवस्थामा कसरी सेवा दिने भन्ने कुराको यथेष्ट सिकाइ हुने अपेक्षा गरिएको छ ।
गोष्ठीमा सुदुरपश्चिम, कर्णाली र प्रदेश नं ५ का ५० चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ । उनीहरुबीच अस्पताल क्षेत्रमा आइपर्ने विपत्बाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईँले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि अस्पताल विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तालीम कार्याशाला गोष्ठी राजधानी सुर्खेतमा सञ्चालन भइरहेको छ ।
