‘शहीद स्मारक निर्माण गरिने’
वीरेन्द्रनगर, २२ माघ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदको स्मृतिमा राजधानी सुर्खेतको मुख्य चोकमा स्मारक निर्माण गरिने बताउनुभएको छ ।
शहीदहरुको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएको उल्लेख गर्दै उहाँले शहीदको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनुभयो । मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाइते अपाङ्गको मागपत्र बुझ्दै आज उहाँले घाइते तथा अपाङ्गका लागि पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विसं २०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएका घाइतेहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै मुख्यमन्त्री शाहीसँग गुनासो गरेका छन् । उनीहरुले घाइते भइसकेपछि उपचारका लागि हवाईजवाज चार्टरसमेत आफन्तले गरेका र चार्टरको भाडा अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै भाडा भुक्तानीको माग गरेका छन् ।
घाइतेहरुले मुख्यमन्त्री शाहीसँग थप उपचारको व्यवस्था, आफू र परिवारको योग्यताबमोजिम जीविकोपार्जन तथा रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको समेत माग गरेका छन् । प्रदेश निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका दुई जिल्ला तथा सुदूरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो ।
भेरी, कर्णाली र राप्तीका दुई जिल्लासहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो । सोही आन्दोलनका क्रममा सरकारले बल प्रयोग गर्दा सुर्खेतमा चार जनाको मृत्यु हुनुका साथै धेरैको सङ्ख्यामा घाइते तथा अपाङ्ग भएका थिए ।
