मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्
मोरक्को, २२ बैशाख : अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन् ।
२५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन् । नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन् ।
उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए ।
पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन् । तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ ।
अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन् ।
