भारतीय प्रधानमन्त्री मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट 

नयाँदिल्ली, ११ कात्तिक : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र रक्षा मन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गर्नु भएको छ ।

भारत र अमेरिकाबीच दुबै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुबै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताउनु भएको छ ।

उहाँले सम्झौतालाई अघि बढाउन दुबै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुबै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पपनि बताउनु भएको छ ।

रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । सम्झौतामा दुबै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।

सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताउनुभयो । “दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.