चमेरोबाटै कोभिड–१९ को सुरुवात भएको हुनसक्ने अध्ययनको निष्कर्ष

काठमाडौं, १ जेठ : कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोना भाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ ।

विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह ल्याबमा तयार पारेका थिए । अनुसन्धानकर्ताहरुले सार्स–कोभ–टु (Sars-CoV-2) लाई उक्त कोषिकामा सजिलै कोरोना भाइरस संक्रमित गराउन सफल भएका थिए । यस्ता प्रजातिका चमेरो चीन, भारत, नेपाल, भियतनाम लगायत देशमा पाइन्छ ।

यसअघि, एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को भाइरस पनि चमेरोकै प्रजातिले बोक्ने गरेको पत्ता लागेको थियो । उक्त भाइरस नोबेल कोरोना भाइरससँग मिल्दोजुल्दो छ । अनुसन्धानको नेतृत्व गरेका डा. युएन क्वोक युङ भन्छन्, ‘सार्स–कोभ–टु को मूल ‘होस्ट’ चिनियाँ ‘हर्ससू’ चमेरो हुनसक्छ ।’ तर, यो यकिन गर्न  थप अनुसन्धान आवश्यक रहेको युएन बताउँछन् ।

यो अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल ‘नेचर मेडिसिन’मा हिजो बुधबार प्रकाशित भएको हो ।

यतिबेला नोबेल कोरोना भाइरसको उद्गम कहाँबाट भयो भनेर चीन र अमेरिकाबीच कुटनीतिक तनाव जारी रहेको छ ।

वासिङट्नले चीनको ल्याबमा यो भाइरस तयार गरिएको आरोप लगाएको छ भने चीनले गत अक्टोबरमा वुहानमा आयोजित मिलिटरी वर्ल्ड गेममा भाग लिन आएका अमेरिकी सेनाबाट यो फैलिएको आरोप लगाएको छ ।

विस्तृतमा : साउथ चाइना मोर्निङ पोष्ट

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.