निर्वाचनका बारेमा श्रीलङ्काको सर्वदलिय बैठक पनि अनिर्णीत

कोलम्बो, ३१ वैशाख : श्रीलङ्कामा संसदीय निर्वाचन कहिले गराउने भन्ने बारेमा सर्वदलिय बैठक पनि अनिर्णीत भएको छ । आगामी जुनमा गर्नेगरी तय गरिएको निर्वाचन निर्धारित समयमै गर्ने की नगर्ने भन्ने बारेमा छलफल गर्न निर्वाचन आयोगले बुधबार सर्वदलिय बैठकको आयोजना गरेको थियो ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले विपक्षीको बहुमत रहेको संसद केही महिना अगाडी विघटन गरेर निर्वाचनको घोषणा गर्नुभएको थियो । उहाँले गत मार्च महिनामा संसद विघटन गरी शुरुमा अप्रिलमा निर्वाचन गराउने तय गर्नुभएको थियो । तर भाइरसको सङ्क्रमणका कारण स्थगित भएको निर्वाचन फेरी जुन २० तारिखमा गर्ने भनिएको थियो । तर कोरोनाभाइरसको सङ्क्रमणको अवस्था पूर्ण नियन्त्रणमा आइनसकेकाले तोकिएको समयमा निर्वाचन गर्न सकिने की नसकिने भन्नेमा दलहरु नै अन्यौलमा रहेका छन् ।

श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म ८८९ जना सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसले मानवीय संकट निम्त्याएकै बेला श्रीलङ्कामा निर्वाचनको विषयलाई लिएर संवैधानिक संकट पनि उत्पन्न भएको छ ।

श्रीलङ्काको संविधानमा संसद विघटन भएको तीन महिनामा गठन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।देशका विभिन्न विपक्षी दलहरु र नागरिक अगुवाका विभिन्न संघसंगठनहरुले अहिले निर्धारण गरिएकै समयमा निर्वाचन सम्पन्न गर्न माग गरेका छन् ।

उनीहरुले संवैधानिक व्यवस्थालाई भत्कन नदिनेगरी कुनैपनि हालतमा तीन महिना भित्रमा निर्वाचन गरिसक्न माग गर्दैै सर्वोच्च अदालतमा निवेदन समेत दिएका छन् ।
संवैधानिक बाध्यता र कोरोनाभाइरसको सङ्क्रमणको अवस्थालाई ध्यान दिएर निर्वाचनका बारेमा निर्णय गर्न आयोजना गरिएको सर्वदलिय बैठक विना निश्कर्ष सकिएको एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.