जापानमा शक्तिशाली आँधीको चेतावनी, सतर्क हुन आह्वान

टोकियो, २३ साउन : जापानमा बुधबार राति शक्तिशाली आँधी आउने चेतावनीसहित उच्च सतर्कता अप्नाउन आह्वान गरिएको छ ।

आँधीसँगै भीषण वर्षा हुने र तीव्र गतिको हावाहुरी आउने भएकाले उडान सेवाहरू पनि रद्द गर्न सरकारी अधिकारी तथा मौसमविद्हरूले आग्रह गरेका छन् । उनीहरूको आग्रहअनुसार कतिपय विमान कम्पनीहरूले उडान रद्द पनि गरेका छन् ।

हवाई यातायात मात्र नभएर साइकल, गाडी, रेललगायत यातायातका अन्य साधन प्रयोग गर्नेहरू पनि आँधीका कारण प्रभावित हुनसक्ने भन्दै आँधी आएको बेला घर बाहिर ननिस्कन तथा समुन्द्री किनारमा नजान अनुरोध गरिएको छ ।

“शानशान” नाम दिइएको सो आँधी १५० प्रतिकिलोमिरको गतिमा आउने अनुमान गरिएको छ । आँधीले राजधानी टोकियोसहितका छिमेकी ठाउँहरू बढी प्रभावित हुने बताइएको छ ।

आँधी र अत्यधिक वर्षाले जापानमा केही दिन प्रभावित पार्नसक्ने मौसमविद्हरूले बताएका छन् ।

जापानको पूर्वी र उत्तरपूर्वका तटीय क्षेत्रहरूमा सामुन्द्रिक छालहरू र मध्य जापानका विभिन्न स्थानमा ठूलो हावाहुरी र भारी वर्षाले प्रभाव पार्नसक्ने मौसम अधिकारीहरूको भनाई छ ।

कान्तो क्षेत्रमा पर्ने टोकियो, उत्तरपूर्वी क्षेत्र तोहोकुलगायत मध्य क्षेत्रमा बिहीबार अबेरसम्म भारी वर्षा, हावाहुरी चलिराख्ने अनुमानसहित ती क्षेत्रमा सजक रहन आग्रह गरिएको छ ।

विगत केही महिनादेखि प्राकृतिक विपत्तिको मार खेपिरहेको जापानमा यो सिजनको १३ औँ सामुद्रिक आँधीपछि आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.