सञ्चारमन्त्रीसमक्ष अध्ययन प्रतिवेदन पेश

रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र पक्षको अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले प्रसारण प्रतिष्ठानलाई पूर्णरुपमा जनसेवी प्रसारणमा रुपान्तरण गर्नेलगायतका सुझावहरु समेटिएको प्रतिवेदन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुझाइएको छ ।

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष समितिका संयोजक रघु मैनाली नेतृत्वको टोलीले अध्ययन प्रतिवेदन पेश गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समितिको प्रतिवेदन ग्रहण गर्नुहँुदै मन्त्री बाँस्कोटाले प्रतिवेदनको गहन अध्ययन गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभएको थियो । समितिले मेहनतका साथ प्रतिवेदन तयार गरेकामा पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिवेदनमा रेडियो नेपाल र नेपाल टेलिभिजनमा रहेका महत्वपूर्ण सामग्री संरक्षण गर्न आर्काइभिङमा सुधार, आर्थिक व्यवस्थापन र लेखा व्यवस्थापनमा सुधार गर्ने तथा नयाँ संगठन संरचना, कानूनी ढाँचा, आन्तरिक व्यवस्थापन संयन्त्रलगायतका विषय समेटी प्रसारणलाई पूर्णरुपमा जनसेवी प्रसारणमा रुपान्तरण गर्न सुझाइएको छ ।

समिति संयोजक मैनालीका अनुसार प्रतिवेदनको पहिलो खण्डमा समितिको गठन, यसको कार्यविधि, कार्यक्षेत्र र सीमाहरु उल्लेख छ । दोस्रो खण्डमा रेडियो नेपाल र नेपाल टेलिभिजनको संगठन संरचना र मानव संशाधन परिचालन, आर्थिक, प्राविधिक, आर्काइभ व्यवस्थापनलगायतको अवस्था र ती संस्थाको तत्कालीन सुधारका लागि सुझाव प्रस्तुत गरिएको छ । प्रतिवेदनको तेस्रो खण्डमा संक्रमणकालीन व्यवस्था र चौथो खण्डमा प्रसारण प्रतिष्ठानलाई पूर्णरुपमा जनसेवी प्रसारणमा रुपान्तरण गर्न सुझाव प्रस्तुत गरिएको छ ।

गत जेठ ४ गते (मन्त्रिस्तर) को निर्णयानुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई थप प्रभावकारी, पहुँचयोग्य एवं आत्मनिर्भर बनाउन आवश्यक देखिएकाले समष्टिगत अध्ययन एवं छानबिन गरी प्रतिवेदन पेश गर्न रघु मैनालीको संयोजकत्वमा तपनाथ शुक्ल, यादव चापागार्इं र धरणीधर अधिकारी तथा सञ्चार मन्त्रालयकोतर्फबाट उपसचिव (लेखा) नारायण अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.