७९ करोड ९२ लाख बक्यौता रकम नबुझाएपछि हेलो नेपालको अनुमति खारेज

काठमाडौँ, २ भदौ : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ । हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

“हामीले भदौ १ गतेसम्म प्राधिकरणलाई पहिलो किस्तामा रु सात करोड बक्यौता रकम बुझाउन भनेको थियौँ”, उहाँले भन्नुभयो, “तर उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरेका हौँ ।” उहाँका अनुसार प्राधिकरणलाई हेलो नेपालले करीब रु ७९ करोड ९२ लाख बुझाउन बाँकी छ । प्राधिकरणको गत साउन १७ गतेको बोर्ड बैठकले हेलो नेपाललाई भदौ १ गतेसम्म रु सात करोड र त्यसपछि तीन महीनाभित्र बक्यौता सबै रकम बुझाउन निर्देशन दिएको थियो ।

हेलो नेपालले प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णयमा चित्त नबुझेमा दूरसञ्चार ऐन बमोजिम ३५ दिनभित्र उजुरी दिन सक्ने छ । त्यसरी परेको उजुरीमा सरकारबाट भएका निर्णय नै अन्तिम हुने व्यवस्था छ । हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.