विज्ञान नीतिको मस्यौदा तयार भएको जानकारी

काठमाडौँ, १४ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान नीतिको मस्यौदा तयार गरिएको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियल तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजना भएको तीन दिवसीय खगोल तथा अन्तरिक्ष विज्ञान सम्मेलनको उद्घाटन गर्दै उहाँले नीतिका बारे मन्त्रिपरिषद्मा एक पटक छलफल गरिसकेकाले अर्को मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जानकारी गराउनुभयो ।

उहाँले विज्ञान विषयलाई जीवन पद्धतिसंँग जोड्नुपर्नेछ भन्दै विज्ञानलाई विद्यालय तहदेखि नै अनिवार्य रुपमा अध्ययन गराउनुपर्ने धारणा राख्नुभयो । नयाँ पुस्तालाई विज्ञान र प्रविधि विषयप्रति आकर्षित गराउन प्रविधि र विज्ञान प्रयोगशाला अलगअलग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई अगाडि बढाउनका लागि विज्ञान सङ्ग्रहालयको स्थापना गरिएको छ भन्दै विज्ञान कलेजको आवश्यकता रहेको भनाइ राख्नुभयो । अन्तर्राष्ट्रियस्तरमा खगोल र अन्तरिक्ष विज्ञानमा भएका अनुसन्धानबारे शिक्षक र विद्यार्थीलाई जानकारी दिनका लागि सम्मेलन गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले विद्यार्थी र शिक्षकलाई खगोल र अन्तरिक्ष विज्ञानको अनुसन्धान गर्न सहयोग मिल्ने उहाँले बताउनुभयो । डा शर्माले खगोल र अन्तरिक्ष विज्ञानका जनशक्ति कम भएकाले सम्मेलनले ती विषयमा अध्ययन अनुसन्धान गर्न विद्यार्थीलाई प्रेरित गर्ने समेत बताउनुभयो ।

सम्मेलनमा सात प्रदेशका ४० वटा क्याम्पसका स्नाकोत्तर तहदेखि दश जोड दुईसम्म विज्ञान विषयमा अध्ययरत रहेका करीब १२० विद्यार्थी सहभागी छन् । विद्यार्थीलाई बिपी सङ्ग्रहालय र अन्य ठाउँमा भएका विज्ञानका विभिन्न अविष्कारबारे समेत अवलोकन गराइने छ । त्रिभुवन विश्वविद्यालयका प्रा डा एनपी चापागाईं, प्राडा राजु खनाल, डा एचपी लामिछानेलगायतले खगोल र अन्तरिक्ष विज्ञानका बारेमा जानकारी दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.