१४ थान वनस्पतिको अणुवंशाणु परीक्षण

ललितपुर, ५ वैशाख : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले नेपालका १२ देखि १४ थान वनस्पतिको अणुवंशाणु (डिएन ए)परीक्षण सम्पन्न गरेको छ । उक्त परीक्षणबाट उत्पादित वनस्पति स्वदेश वा विदेश कहाँको हो भनेर सजिलै जानकारी हासिल गर्न सकिन्छ ।

नाष्टले वनस्पतिकोे अणुवंशाणु परीक्षण गरी जैविक जानकारीलाई सिलसिलेवार रुपमा क्रमगत तरिकाले तथ्याङ्क मिलाएर राख्ने कामको शुरुआत गरिसकेको नाष्टका प्रवक्ता शुरेसकुमार ढुङ्गेलले बताउनुभयो । “यस परीक्षणबाट कुन प्रकारको विरुवा हो, कहाँ उत्पादन भयो र गर्न सकिन्छ, नेपालमा उत्पादन हुने प्रजाति के के हुन् भन्ने जानकारी हासिल गर्न सहयोग मिल्ने ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार लोपोन्मुख प्रजातिका वनस्पति र जन्तुका हकमा यसले विशेष भूमिका निर्वाह गर्छ ।

नाष्टले वनस्पतिको अणुवंशाणु परीक्षण गरी अन्तरराष्ट्रिय तथ्याङ्कमा राख्ने काम गरिसकेको छ । उक्त परीक्षण गर्दा चोरी भएर गएका वनस्पतिबारे जानकारी हासिल गर्न सहयोग मिल्ने बताइएको छ ।

“नाष्ट र राष्ट्रिय प्रकृतिक संरक्षण कोषको सहकार्यमा वन्यजन्तुको हितलाई ध्यानमा राखी अणुवंशाणु परीक्षण गर्ने योजना अघि बढाएका छौँ”, ढुङ्गेलले थप्नुभयो, “आगामी दिनमा प्रविधि, रसायन र दक्षजनशक्ति साथमा लिएर बाघको अणुवंशाणु परीक्षण गर्ने योजना अघि बढाएका छाँै ।”

यसअघि नास्ट राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले मानिस र जनावरको डिएनए परीक्षण गर्दै आएको थियो । प्रतिष्ठानले बोटबिरुवाका फूल, पात, बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको थियो । लोपोन्मुख जातिको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि यसले सहयोग गर्ने नाष्टले बताउँदै आएको छ । अव्यवस्थित सङ्कलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्न सक्दा मात्रै त्यो रोक्न सकिन्छ । परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ । त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिने बताइएको छ ।

यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनका लागि परीक्षणले सहयोग गर्छ । यसले यस विषयमा अध्ययनरत विद्यार्थी र विज्ञलाई समेत सहयोग पुगेको छ । ढुङ्गेलले थप्नुभयो, “यस परीक्षणले विभिन्न किसिमका वनस्पतिका विषयमा अध्ययनरत विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरुसँग मिल्ने गुणका बारेमा अध्ययनसमेत गर्न पाएका छन् ।”

यसअघि रेकर्ड (इन्टरनेट) मा नभएका बोटबिरुवाको नयाँ कोड(सङ्केत) दिइने गरिएको थियो । नयाँ बिरुवाको डिएनए परीक्षण गरेर इन्टरनेटमा राख्दा विदेशीलाई समेत त्यसबारे बुझ्न सहज हुनेछ । अरुसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमा मात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नाष्टका विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताउनुभयो “हामीसँग भएका बिरुवाको प्रकार बुझ्न समेत अनुसन्धानले सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.