थप ७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं, २३ वैशाख : बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो ।
उहाँका अनुसार २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका छन् । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म छ ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको छ भने उपचारपछि १६ जना निको भएर घर फर्किएका छन् ।
