बारा र पर्साका चार जनामा कोरोनाको संक्रमण पुष्टि, ५८ पुगे सङ्क्रमित

काठमाडौँ, १७ वैशाख : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उहाँका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् ।
सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ भने जसमा १६ जना उपचारपछि निको भएका छन् ।
