वीरगञ्जमा रहेका ३ भारतीयमा कोरोना भाइरसको संक्रमण

वीरगञ्ज, ३० चैत: पर्साको वीरगञ्जस्ति नारायाणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।  हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

कोरोना पोजेटिभको आशंकामा नारायणी अस्पतालको आइसोलेशन वार्डमा रहेका तीनैजनाले मनोमानी गर्न थालेपछि प्रहरीले कडा निगरानी बढाएको छ ।

उनीहरूले मनोमानी गर्न थालेपछि अस्पतालका मेसु, डा मदन उपाध्यायले स्वंय प्रहरी लगाएर आइसोलेशन वार्डको कोठामा थुनेर बाहिरबाट ताल्चासमेत लगाएका थिए ।

स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।

नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भने, ‘उनीहरुले दिएको सूचना सहि नहुन पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ ।’ तीनजनालाई आइसोलेशनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अपनाएका छन् ।

यसअघि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने आन्तर्राष्ट्रिय तबलीगी जमातमा सहभागि भई नेपाल फर्केका ४६ जनाभन्दा बढीलाई पर्सा र बाराबाट पक्राउ गरी सम्बन्धित जिल्लामा पठाइसकेको छ । विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यसअघि एकजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.