काठमाडौंमा भेटिए कोरोना संक्रमित

काठमाडौँ, १० चैत : काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए ।  उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए ।

रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।

कोभिड–१९ को नमूना परीक्षणको दायरा बढाइयो 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताउनुभयो ।

उहाँले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग नजिकैको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित सङ्क्रमणको लक्षण देखिएको अवस्थाको अतिरिक्त ६० वर्ष भन्दामाथिका वृद्धवृद्धा, गम्भिर प्रकारको स्वासप्रश्वासका बिरामी, दीर्घरोगी र स्वास्थ्यकर्मीमा समेत सम्भावित सङ्क्रमणको लक्षण देखिएमा नमूना परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

अहिलेसम्म शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ६०० जनाको कोभिड–१९ को नमूना परीक्षण गरिसकिएको छ । जसमध्ये एकजना बाहेक अरु कसैमा पोजेटिभ नआएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । फ्रान्सबाट गत मङ्गलबार नेपाल आउनुभएकी १९ वर्षीया एक युवतीलाई आइतबार परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएको थियो । अहिले उहाँको शुक्रराज अस्पताल टेकुमा उपचार भइरहेको छ ।

मन्त्रालयले खरिपाटीस्थित क्वारेन्टाइनलाई पुनःप्रयोगमा ल्याइएको र हाल त्यहाँ ७१ जना नेपाली र विदेशी नागरिकलाई राखिएको छ । प्रवक्ता डा देवकोटाका अनुसार सङ्क्रमित र सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकामा एक हजार श्यया, १२० अति सघन कक्ष र विभिन्न प्रदेशमा १२५ अतिसघन कक्ष थप्ने कार्य शुरु गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले अस्पतालमा प्रदान गरिरहेको विस्तारित स्वास्थ्यसेवा हाललाई दुई हप्ताका लागि स्थगन गर्ने र नियमित फ्लोअपमा आउने बिरामी (जसलाई तत्काल उपचार नगर्दा थप जोखिम हुँदैन) लाई आउँदो दुई हप्तासम्म फलोअपमा नबोलाउने, नियमित जाँच तथा शल्यक्रिया (जुन तत्काल नगर्दा बिरामीलाई थप जोखिम हुँदैन) आउँदो दुई हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.