वीर अस्पतालको लिफ्ट चुँडिदा २ मजदुरको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौँ, १० फागुन : वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ ।

उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदानपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारका क्रममा मृत्यु भएको जनसेवा प्रहरीका प्रहरी नायब उपरीक्षक टेकुनन्द लिम्बूले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना बिहीबार साँझको भए पनि प्रहरीले आज मात्र जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.