विधेयक विधायन समितिमा पठाउन सर्वसम्मत निर्णय

पोखरा, १२ माघ : गण्डकी प्रदेशको आज बसेको प्रदेशसभा बैठकले प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक विधायन समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत निर्णय गरेको हो ।
यसअघि विधेयक माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यले विज्ञान र प्रविधि समृद्धिको आधार भएको बताउँदै प्रविधियुक्त विकास निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेश समृद्धिका लागि विज्ञान र प्रविधियुक्त विकास निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि विधेयक बहुपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्का प्रदेशसभा सदस्य दोबाटे विश्वकर्माले प्रविधिको भरपुर उपयोग गरेर उच्च आर्थिक वृद्धि हासिल गर्न सकिने बताउँदै आधुनिक प्रविधिसँगै सीप र ज्ञानको विकास गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा प्रदेशसभा सदस्य मिना गुरुङले प्रविधिको प्रयोगमार्फत प्राकृतिक स्रोत साधनको भरपूर उपयोग गर्दै गरिबी निवारणसँगै वातावरणीय सुधारमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशसभा सदस्य प्रभा कोइरालाले आधुनिक र प्रविधियुक्त शिक्षाको आवश्यकता औँल्याउँदै उत्पादनमूलक दक्ष जनशक्ति उत्पादनसँगै समृद्धि र विकासका लागि विधेयक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । अर्का प्रदेशसभा सदस्य हरिशरण आचार्यले विधेयक बन्नुभन्दा पनि कार्यान्वयको पाटो सशक्त हुनुपर्नेमा जोड दिँदै विज्ञान प्रविधि प्रतिष्ठान सञ्चालक समितिमा विज्ञ समूह राख्नुपर्ने सुझाव दिनुभयो ।
विशेष समय
प्रदेशसभाको आजको विशेष बोल्ने सदस्यले विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभा बैठकको विशेष समयमा प्रदेशसभा सदस्य दीपक कोइरालाले पोखरा महानगरपालिकामा अवस्थित नहर र कुलामा खसेर दुई वर्षको अवधिमा १८ जना ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गर्दै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा–२७ खरानेमा रहेको नहरमा परेर दुई वर्षका बालक प्रेम शर्मा, पोखरा– १४ मझेरीपाटनको नहरमा परेर दुई वर्षीय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका चार वर्षीय बालक अञ्जित गुरुङ, पोखरा–५ प्रस्याङमा चार वर्षीय सिर्जना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर दुःखद् निधन भएको जानकारी गराउनुभयो ।
पोखरा–१२ सेती नहरमा परेर सङ्गीतकर्मी श्रीमान् थुलुङराईलाई गुमाउनुका साथै मोटरसाइकलमा हिँड्दै गर्दा बिजुलीको तार चुँडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनुपरेको स्मरण गराउनुभयो । उहाँले विकास व्यवस्थित र जोखिम कम हुने गरी गराउनुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेशसभा सदस्य विन्दुकुमार थापा, हरिशरण आचार्य, पियारी थापाले प्रदेशसभा सदस्यले सदनको गरिमालाई उच्च राख्नुपर्नेमा जोड दिँदं जनताको विकास र समृद्धिको चाहना पूरा गर्नेतर्पm ध्यानदिनुपर्ने आवश्यकता औँल्याउनुभयो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य मिना गुरुङले उद्यमशीलताको विकासका लागि गरिने कर्जा सर्वसुलभ एवं उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकको शुरुमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य राजीव गुरुङ पक्राउ परेको जानकारी गराउनुभएको थियो । अर्को बैठक भोलि १ बजे बस्नेछ ।
