‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन’ : प्रदेशका प्रमुख कुँवर

चिप्लेढुङ्गा, २० असार : गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले सामाजिक न्यायका लागि महिला र पुरुषबीचको विभेद् अन्त्य जरुरी रहेकोे बताउनुभएको छ ।

जोन्टा क्लब पोखराको पदस्थापना कार्यक्रममा उहाँले राज्यले लिएको नीतिलाई कार्यान्वयन गर्नेहरुको विभेदी मानसिकताले महिला र पुरुषबीचको खाडल पुरिन नसकेको बताउनुभयो । उहाँले राज्यले सकारात्मक विभेद्को नीति लिएर महिला अधिकारलाई स्थापित गर्न खोजे पनि निर्णायक तहमा बस्नेले समावेशीताको भावनालाई बुझ्न नसकेको गुनासो गर्नुभयो ।

“समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन, अहिले यसरी मात्रै हेरिएको छ यसले महिला सशक्तीकरण हँुदैन”, उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकारसमेत महिलाले पाउनसकेका छैनन्, महिला पुरुष भनेर विभाजित मानसिकताले विभेद्को अन्त्य हुनसकेको छैन ।”

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न क्षेत्रका व्यावसायिक महिलाको संस्था जोन्टाले एक शताब्दी पार गर्नु ऐतिहासिक भएको भन्दै अब जोन्टाको उद्देश्यअनुरुप क्षेत्र विस्तार गरेर महिला सशक्तीकरणको नमूना देखाउनुपर्ने बताउनुभयो ।

अमेरिकाको शिकागो शहरमा एक सय वर्षअघि विभिन्न क्षेत्रका व्यावसायिक महिलाको साझा संस्थाको रुपमा स्थापना गरिएको जोन्टाले ‘सर्भिस’ र ‘एड्भोकेसी’मार्फत महिला सशक्तीकरणका लागि काम गर्दै आएको छ । विसं २०६९ मा काठमाडौँमा गठन भएको यस क्लबले पहिलो पटक पोखरामा आफ्नो क्लब विस्तार गरेको हो । जोन्टा क्लब पोखराको अध्यक्षमा लिना श्रेष्ठ गोशलीसहित २७ सदस्यीय क्लब गठन गरेर विभिन्न जिम्मेवारी प्रदान गरी पदस्थापन गरिएको छ ।

जोन्टा डिष्ट्रिक २५ का गर्भनर शाहनाज नाथानीले नयाँ सदस्यलाई शपथ खुवाउँदै जोन्टा क्लब महिलाको नेतृत्व र क्षमता विकासका लागि विभिन्न कार्यक्रम गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । नाथानीले शिक्षा, स्वास्थसँगै विभिन्न सीपमूलक तालीम दिँदै आएको जोन्टाले विभेद्रहित समुन्नत समाजको उद्देश्य रहेको बताउनुभयो । विश्वका विभिन्न ६७ देशमा १२ सय जोन्टा क्लब रहेको र सोमा ३० हजार सदस्य रहेका जोन्टा क्लब काठमाडौँका अध्यक्ष मीरा ज्योतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.