प्रदेश प्रमुख कुँवरसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

पोखरा, २९ चैत : गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष प्रदेश महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज यहाँ पेश गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा नायब महालेखा परीक्षक पद्मराज पौडेलले आव २०७४/७५ को वार्षिक प्रतिवेदन प पेश गर्नुभएको हो ।

प्रदेश सरकार स्थापना भएपछि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको रकमको से्रस्ताको लेखापरीक्षण गरी पहिलो पटक प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरिएको हो ।

प्रदेश प्रमुख कुँवरले प्रतिवेदन बुझ्दै कानूनको कार्यान्वयन र पालनामा उदासीन भइयो भने देशको समृद्धि र समुन्नति धेरै पछाडि पर्ने बताउनुभयो । नेपालको संविधानको धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको कामकारवाही सम्बन्धमा अलगअलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेश गर्ने प्रावधान छ ।

सोही प्रावधानबमोजिम महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा गण्डकी प्रदेशभित्र रहेका सरकारी कार्यालयमा गरेको महालेखा परीक्षणको व्यहोरा समेटिएको प्रतिवेदन नायब महालेखा परीक्षक पदमराज पौडेलले पेश गर्नुभएको हो । प्रतिवेदन कार्यान्वयनका लागि प्रदेश प्रमुखबाट प्रदेशका मुख्यमन्त्रीमार्फत प्रदेशसभामा पेश गर्ने प्रावधान छ ।

गण्डकी प्रदेशमा रु पाँच लाख ४० हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन पेश गर्न काठमाडौँबाट नायब महालेखा परीक्षक पौडेलसहित निर्देशक अनन्त तिवारी र लेखापरीक्षण अधिकारी कृष्णप्रसाद दाहाल रहनुभएको तीन सदस्यीय टोली पोखरा आएको थियो ।

महालेखा परीक्षकको कार्यालयद्वारा सङ्घीयसहित सातवटै प्रदेशमा आज एकै दिन प्रतिवेदन पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.