औद्योगिक व्यवसाय विधेयक पारित

पोखरा, १ चैत : गण्डकी प्रदेशसभाको आजको बैठकले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य विन्दुकुमार थापा, प्रभा कोइराला, दिलमाया रोका मगर र मेखलाल श्रेष्ठले गण्डकी प्रदेश उद्योग क्षेत्रमा कमजोर रहेको बताउँदै उद्योगधन्दाको विकासमार्पmत् बेरोजगारी अन्त्य र आर्थिक समृद्धि हासिल गर्नपर्ने बताउनुभयो ।

सभामा सदस्यले औद्योगिक क्षेत्रको समग्र विकास एवं उचित व्यवस्थापनका लागि विधेयक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताउँदै सम्झौता सच्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले विप्लव नेतृत्वको नेकपा माओवादीलाई वार्तामा ल्याएर समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले मानव जीवनमा अत्यावश्यक रगत सहजरुपमा उपलब्ध हुनुपर्ने बताउँदै रक्तसञ्चार केन्द्रलाई प्रदेश मातहत ल्याएर प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

पोखरामा अझैँ पनि ट्याक्सी मिटरमा नहिँड्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले उचित भाडादर कार्यान्वयनमा ल्याउँदै सर्वसाधारणले भोग्दै आएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य हरिशरण आचार्यले विप्लव नेतृत्वको नेकपा माओवादीलाई प्रतिबन्द लगाउनु उपयुक्त नभएको बताउँदै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

अर्का प्रदेशसभा सदस्य दोबटे विश्वकर्माले प्रदेश सरकारले विनियोजन गरेको बजेट सम्बन्धित शीर्षकमा नै खर्च गर्नुपर्ने बताउँदै एउटा योजनाको रकम अर्कोमा रकमान्तर गर्न नहुने बताउनुभयो । शून्य समयमा प्रदेशसभा सदस्य मीना गुरुङले उपभोक्ता विभिन्नरुपमा ठगिने गरेको बताउँदै गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने गरी व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

अर्का सदस्य मेखलाल श्रेष्ठले बढ्दो सवारी चापसँगै असहज बन्दै गएको पोखराको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेशसभा सदस्य लक्ष्मी सुनारले जीर्ण सडकका कारण आवतजावतमा समस्याका साथै दुर्घटना बढ्ने गरेको बताउँदै त्यस्ता सडकको मर्मतसम्भारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

आजको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विधायन समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो । अर्को बैठक आगामी चैत ११ गते दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.