संसदीय अभ्यासका विषयमा छलफल
खस्यौली, १२ फागुन : गण्डकी प्रदेशको प्रदेशसभा र प्रदेश नं ५ को प्रदेशसभाबीच संसदीय अभ्यासका विषयमा आज छलफल भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, प्रदेशका विभिन्न समितिका सभापति लगायतलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले स्वागत गर्नुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सहअस्तित्व, समन्वय र सहकार्य नै सङ्घीयता भएको उल्लेख गर्दै सङ्घीयता एउटा नयाँ मोडेल भएको बताउनुभयो । उहाँले संसदीय अभ्यासका लागि यस्तो अवलोकन भ्रमण फलदायी हुने र यसबाट सिकेर आगामी कार्यभार पूरा गर्न सहज वातावरण तयार हुने बताउनुभयो ।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले सङ्घीयताको पहिलो कडी प्रदेशसभा भएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको अधिकारलाई बुझ्ने र बुझाउनेमा समस्या देखिएको छ भन्नुुभयो । उहाँले प्रदेश नं ५ बाट १६ विधेयक पारित भएको जानकारी दिँदै प्रदेशसभाको गरिमालाई मर्यादित र व्यवस्थित बनाउने कोसिस भएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक मायानाथ अधिकारीले सबै विषयमा सहमतिको प्रयास गरिएको जानकारी दिँदै प्रदेशसभालाई स्थापित गराउने कुरा चुनौतीपूर्ण भएको बताउनुभयो । प्रदेश नं ५, नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सङ्घीयताको कार्यान्वयन गर्न प्रदेशसभाको गरिमालाई प्राथमिकतामा राखेर काम भएको जानकारी दिनुभयो । गण्डकी प्रदेश, विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सङ्घीयता भनेको एक खालको सङ्घर्ष हो भन्नुभयो ।
