अर्थ व्यवस्था कमजोर बन्दै गयो : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनको बिहीबार पोखरामा आयोजित उद्घाटन समारोहमा अध्यक्ष कमल थापासहित नेताहरू । तस्वीर: वासुदेव पौडेल

पोखरा, ५ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यको अर्थ व्यवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलनको उद्घाटन गर्दै उहाँले देशमा व्याप्त भ्रष्टाचार, गलत अर्थनीति र कुशासनले अर्थतन्त्र कमजोर बनाउँदै गएको बताउनुभयो । 

बढ्दो महङ्गी, जनतामाथि करको भार, शैक्षिक संस्था, अदालतजस्ता निकायमा राजनीतिक भागबण्डा आदिका कारण देश नै असफल बन्ने खतरा बढेको बताउँदै उहाँले आम नागरिकले राज्यबाट न्यायको महसुस गर्न नसकेको आरोप लगाउनुभयो । 

हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि राप्रपाले शान्तिपूर्ण देशव्यापी जनसङ्घषको अभियान शुरु गर्ने उहाँले जानकारी दिनुभयो । 
पार्टीले गर्न लागेको जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्ध नभई देशका ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानका लागि भएको उहाँले स्पष्ट पार्नुभयो । 

नेपाली काङ्ग्रेस महासमिति बैठकमा ८०० सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष थापाले काङ्ग्रेस महासमिति बैठकले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।  

केही हप्ताअघि काठमाडौँमा धर्म प्रचारक विवादास्पद संस्थाले आयोजना गरेको कार्यक्रममा स्वयं प्रधानमन्त्री सहभागी हुनुले धर्म परिवर्तन गराउनेलाई प्रोत्साहन मिलेको अध्यक्ष थापा बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजीव पराजुली, प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, राप्रपाका केन्द्रीय सदस्य तोरण गुरुङ, दीलविकास राजभण्डारीलगायतले राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचारलाई जनसमक्ष पु¥याउनसकेमा पार्टीप्रतिको आकर्षण बढेर जाने विश्वास व्यक्त गर्नुभयो । दुईदिने प्रशिक्षण पार्टीका आन्तरिक रणनीतिमा छलफलका साथै फागुन ७ गतेदेखि शुरु हुने जनसङ्घर्षमा केन्द्रित हुने बताइएको छ । 

कार्यक्रमको सभापतित्व राप्रपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हेमजंग गुरुङले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.