आर्थिक विकासमा अघि बढने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
काठमाडौँ, २९ भदौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताउनुभएको छ ।
कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन – २०१८ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी समय खेर फाल्ने अवस्थामा छैनौ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।”
प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक भएको जनाउँदै “नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छ” भन्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा विभिन्न कारणले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याउने तथा नयाँ उद्योगको स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह पनि गर्नुभयो
बन्द भएका उद्योगको सञ्चालन पछि थप रोजगारीको अवसर सिर्जना हुने र नयाँ उद्योग स्थापनापछि आर्थिक विकास तथा समृद्धिका लागिसमेत योगदान दिने भएकाले सरकार सोही वातावरण बनाउन लागिपरेको स्पष्ट पार्नुभयो ।
औद्योगिक क्षेत्रमा विनाहिचकिचाहट लगानीका लागि लगानीकर्तालाई आह्वान गर्दै उहाँले लगानीका लागि एकद्वार प्रणालीको विकास गरिने धारणा राख्नुभयो । थप लगानीका लागिरहेको कानूनी र व्यावहारिक जटिलतालाई क्रमशः हल गरिने भन्दै उहाँले लगानीको सुरक्षा गर्दै लगानीकर्तालाई उपयुक्त अवसर प्रदान गरिने बताउनुभयो ।
भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेकोे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले रक्सौल काठमाडौँ रेलमार्ग निर्माणबारे एक खालको सहमति भएको र थप प्रक्रियासमेत अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
विकासले नयाँ गति लिन्छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताउनुभयो ।
जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उहाँको भनाई छ ।
अध्यक्ष दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ ।”
उहाँले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भए पनि अहिले हामीलाई त्यस्तो कुनै पनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो ।
विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै उहाँले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताउनुभयो ।
सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “हामीलाई भूगोग, प्रकृति, समाजले धेरै ठूलो अवसर दिएको छ । प्रकृतिले दिएको स्रोत र साधनलाई भौगोलिक र सांस्कृतिक विविधता भित्र लेखाजोखा गर्दै धनी राष्ट्रका रुपमा अगाडि बढ्ने पर्याप्त आधार दिएको छ । त्यसलाई सदुपयोग गर्नुपर्दछ ।”
छिटोभन्दा छिटो आर्थिक विकासका लागि चीन र भारतजस्ता ठूला देशले घेरिएको भूराजनीतिक अवस्थिति विकासका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उहाँले अब दृढ इच्छा शक्ति मात्रै जरुरी रहेको बताउनुभयो ।
देशभित्रै व्यावसायिक वातावरण बनाए मात्रै वैदेशिक लगानीकर्तालाई समेत भित्र्याउन सकिने भएकाले त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र व्यवसायी सबै लाग्नुपर्ने उहाँको कथन थियो । राजनीतिक नेतृत्वले जोखिम मोलेर भए पनि आर्थिक विकास र समृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा रामशरण महतले स्थानीय र प्रदेश तहमा थुप्रै संरचना बने पनि संस्थागत क्षमता नहुनु सरकारका लागि ठूलो चुनौती भएको बताउनुभयो । सात सय ५३ तहको स्थानीय सरकार र सात प्रदेश सञ्चालनका लागि ठूलो आर्थिक स्रोत चाहिने भन्दै त्यसलाई दिगो बनाउन लाग्नुपर्ने सुझाव दिनुभयो ।
सो कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योगी व्यवसायी, विभिन्न राजनीतिक दलका नेता, भारतीय जनता पार्टीका नेता, प्रवासी नेपाली लगायतको सहभागिता थियो ।