तत्काल चिनीको मूल्य रु ६३ निर्धारण गर्न निर्देशन

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । किसानले उखु बिक्री गरेवापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ । समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ ।

उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने आधुनिक संयन्त्र निर्धारण गर्न, व्यापारीले अनिवार्य र विद्युतीय प्रक्रियाबाट बिलबिजक जारी गर्नुपर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । उपभोक्तालाई गुणस्तरहीन र अखाद्य वस्तुको प्रयोगबाट जोगाउन आयात गरिने र नेपालमै उत्पादन गरिएका उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरेर मात्र बिक्री वितरणको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।

उपभोग्य वस्तु देशका सबै भूभागमा सहुलियत दर र सरल रुपमा पु¥याउन र उपभोग्य वस्तुको आवश्यकता अनुसारको भण्डारको व्यवस्था गर्न तथा खाद्यान्नमा मिसावट, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी ठगी गर्नेमाथि अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्नसमेत समितिले उद्योग, वािणज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गरेको छ ।

समितिले यसअघि सरकारी संयन्त्रबाट भएको बजार अनुगमनको प्रगति, आगामी कार्ययोजनासहितको सम्पूर्ण विवरण समितिलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

चाडवाड अघि उपभोक्तालाई आवश्यक पर्ने खसीबोका, भेडा, च्याङ्ग्रा, हाँस, कुखुराको व्यवस्थापनका पक्ष र मरेका पशु चौपायाको बिक्री वितरण गर्ने कार्यमा तत्काल नियन्त्रण गर्न तथा पशुबधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदनसमेत समितिलाई उलब्ध गराउन निर्देशन दिइएको छ ।

ठूलोमात्रामा खाद्यान्नको कारोबार हुने चाडपर्वका बेला देशका विभिन्न भागमा पर्याप्त मात्रामा सहुलियत पसल खोली सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउन समितिले सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन, चाडवाड अघि मूल्यवृद्धि तथा मूल्य समायोजन नगर्नसमेत सरकारलाई निर्देशन दिइएको छ ।

भारतबाट आयात हुने चामल कम गुणस्तरको रहेको जनगुनासो आएको भन्दै समितिले उक्त गुणस्तरहीन चामलको परिणाम र आयातकर्ताको सम्पूर्ण विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतका निकायको कार्यप्रगतिका बारेमा छलफल भएको थियो । बैठकमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, उद्योग सचिव यामकुमारी खतिवडा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईलगायतले सांसदले राखेका जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

चिनीको मूल्य रु ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार पक्षलाई निर्देशन दिएको छ ।

त्यसैगरी समितिको यही असोज १५ को निर्णयानुसार खाद्यलगायत दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपभोक्ताले प्राप्त गर्ने गरी व्यवस्थापन गर्न र अस्वाभाविक मूल्यवृद्धि, एकाधिकार गर्ने र उपभोक्ता ठगी गर्नेलाई कडाइका साथ कारवाही गर्न थप निर्देशन दिएकोे छ ।

समितिका सभापति भरतकुमार शाहले सालेसअन्र्तगत चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले विभिन्न सुझावसहित आज समितिसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमाथि थप अध्ययन गरी कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.