निवर्तमान अर्थमन्त्रीका विवादास्पद निर्णयहरु र अवको बाटो

डा. दिलनाथ दंगाल । काठमाडौँ, २२ असार : मध्यरातमा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएको र सो को सिसिटिभि फुटेज नष्ट गर्ने कार्यपछि अत्यन्तै विवादि बनेका माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा संसदीय छानवीन कमिटी गठन पश्चात आफ्नो पदबाट राजीनामा दिएपछि विभिन्न अड्कल बाजि भईरहेका छन । शर्माले आफ्नो कार्यकालमा धेरै नै विवादास्पद निर्णयहरु गरेका थिए । सबै भन्दा पहिला त उनले स्वेत पत्र भित्र अस्वेत छिद्रहरु राखेर जनतालाई अर्थतन्त्रको गलत तथ्य पेश गरे । त्यसपछि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको पूर्ण बजेटलाई प्रतिस्थापन विधेयक मार्फत मान्यता नदिने घोषणा गर्दै नेपालको इतिहासमा नै पहिलो पटक बजेट होलिडेको सिर्जना गरे । उनले ल्याएको सो प्रतिस्थापन विधेयकमा केहि व्यक्तिहरुलाईमात्र फाईदा हुनेगरी काम गरे भने सोहि विधेयकमा आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था पनि गरे । जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो भयो ।

त्यसैगरी विना अध्ययन केहि व्यक्तीको फाइदाकालागि वि.सं.२०८२ सम्म सञ्चालनमा आउने निर्माणाधीन होटल तथा रिसोर्टलाई सवारीसाधन आयातमा भन्सार महसुल छुट गर्ने व्यवस्था मिलाए भने प्राइभेट स्तरबाट सञ्चालित पुर्नबिमा कम्पनीलाई लाभ हुनेगरी पुनर्बिमा गराउने व्यस्वस्था पनि गरे । केहि उद्योगलाई फाइदा पुग्नेगरी उनले पत्रु आइरनमा भन्सार छुटको व्यवस्था गरे भने सामान्य उपभोक्ताको आवश्यकताको रुपमा रहेको १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्क प्रतिस्थापन विधेयकमार्फत बढाएर गरिखाने जनतालाई मारमा पारे । अघिल्लो सरकारले विकासको पुर्वाधारको रुपमा ल्याएका १४०० ओटा सडक बनाउने योजनाहरुलाई खारेज गरेर जिमशाला, बगैचा, पार्क बनाउने जस्ता प्रावधानहरु बजेटमा ल्याए । पछिल्लो अवस्थामा राष्ट्र बैंकबाट एकजना व्यक्तीको शंकास्पद रकम छुटाउन पनि उनी आफै लागे र सो सम्भव नभएपछि प्रतिशोध साध्न गभर्नरलाई नै कानुन विपरित निलम्बन गरीदिए ।

त्यसैगरी आव २०७९/८०को बजेट निर्माणको क्रममा बिचौलियाहरुको प्रवेश गराएर करकादरहरु हेरफेर गराए भने प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज नै डिलिट गराउन लगाए । उक्त बजेटमा केहि ब्यापारीलाईमात्र फाईदा पुग्ने गरी विद्युतीय सवारी साधनमा कर थप गरे र स्यानीटरी प्याडमा भन्सार छुटको विभेदकारी करनीति ल्याए साथै चाउचाउ, बिस्कुटजस्ता उद्योगलाई आवश्यक पर्ने पाम तेल आयातमा सीमित उद्योगीहरुलाईमात्र आयातमा छुट गराए । समग्रमा भन्नु पर्दा उनले आफ्नो कार्यकालमा देशको अर्थतन्त्रलाई नै गम्भिर मोडमा पुर्याए । हामीले भनेकै अवस्थाबाट अर्थमन्त्रीको विकल्प खोज्न पाएको भए यी माथी उल्लेख गरिएका आर्थिक अपराधहरु हुने थिएनन् भने अर्थतन्त्र अहिलेको जस्तो दयनीय अवस्थामा पुग्ने पनि थिएन । तर ढिलै भएपनि ठूलो सकस र आर्थिक क्षति पछि अर्थमन्त्रीको राजिनामा आएको छ । अव प्राधानमन्त्रीले सक्षम, देशलाई माया गर्ने, अर्थतन्त्र बुझेको र दलहरुलाई चिन्ने व्यक्तीलाई अर्थको बागडोर जिम्मा दिएर जर्जर भएको अर्थतन्त्रलाई बचाउन तीर हामी सबै मिलेर लाग्नु पर्छ अन्यथा हाम्रालागि दुखका दिनहरु टाढा नहुन पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.