निजी सवारीसाधनप्रति आकर्षण बढ्दो

सञ्चिता घिमिरे । ललितपुर, ८ असोज : सातदोवाटोका उपेन्द्र थापाले केही समय पहिले आफ्नो र परिवारको सहजताका लागि कार किन्नभयो । यसअघि सार्वजनिक यातायातमा हिँड्दै आउनुभएका उहाँले आफ्नो साधन भएपछि आफूले चाहेको ठाउँमा समयमै पुग्न पाइने भने अर्कोतिर सार्वजनिक यातायातमा कोचिएर हिँड्न नपर्ने बताउनुभयो ।

दुईपाङ्ग्रे सवारी सुरक्षित नभएकाले चारपाङ्ग्रे चढ्न थाल्नुभएको उहाँको भनाइ छ । निजी व्यवसाय गर्दै आउनुभएको थापाले भन्नुभयो, “समयमा पुगेर पसल खोल्न सकियो भने कार चढ्ने पैसा उसै कमाइन्छ ।”

पहिले उच्च वर्गमा सीमित कार, भ्यान, जीपलगायतका चारपाङ्गे सवारी साधन अहिले मध्यमवर्गसम्म लोकप्रिय बन्दै छ । गत वर्ष १४ हजार चार सय ५२ वटा निजी सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । सार्वजनिक सवारी साधनको तुलनामा निजी सवारीसाधनको खरीद बढिरहेको सो कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि यता निजी सवारीसाधनको खरीदमा झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ । अहिले मुलुकमा निजी सवारी साधनको प्रयोग बढ्दै गएको यातायात व्यवस्था कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “यही क्रम रहने हो, भने आगामी वर्षमा यो सङ्ख्या अझै बढ्नेछ ।”

नेपालीको आम्दानीको स्रोत बढ्नु र सार्वजनिक यातायातको सेवा राम्रो नहुनुजस्ता कारणले निजी सवारीसाधान प्रति अकर्षण बढेको हुनसक्ने प्रमुख पन्थीको भनाइ छ । “वैदेशिक रोजगारीले गर्दा पनि चल सम्पत्ति बढेको छ, देखासिकि र सुविधा भोग्ने इच्छाले गर्दा धेरै नेपाली निजी सवारी साधनप्रति आकर्षित भएका छन्”, उहाँले भन्नुभयो ।

प्रमुख पन्थीले सार्वजनिक सवारी प्रयोग गर्दा निश्चित स्थानसम्म मात्र पुगिन्छ तर तर आफ्नो सवारी भए ईच्छा अनुसार जहाँ पनि जान पाईनेभएकाले पनि निजी सवारीसाधनप्रति धेरैको आकर्षण बढेको बताउनुभयो ।

यातायात क्षेत्रका अभियन्ता राम थापाले निजी सवारी चढ्नु थोरैका लागि रहर भए पनि धेरैका लागि बाध्यता भएको बताउनुभयो । सार्वजनिक सवारी बिहान र साँझ कम हुनु, चालक सहचालकबाट राम्रो व्यवहार नहुनुलगायतका कारण धेरै नेपाली निजी सवारीसाधन चढ्न थालेका हुन । सन्तानलाई पढाउने, खाने, लाउने खर्च कटौती गरेर भएपनि जागिरेले निजी सवारी किनेका छन् । काठमाडौँं जस्तो शहरमा रातभर सार्वजनिक सवारी चल्नुपर्ने खाँचो देखिएको छ । उहाँले भन्नुभयो, “भनेको समयमा सार्वजनिक सवारी पाएमा निजी सवारी चढ्ने ह्वात्तै घट्न सक्छ ।”

निजी सवारी दिनदिनै बढ्दा काठमाडौंँ उपत्यकालगायतका देशका ठूला शहरमा सडक अस्तव्यस्त भएको छ । गतवर्ष मात्र ८३३ बस र २६२ मिनिबस यातायात व्यवस्था कार्यालयमा दर्ता भएका छन् । ट्रक, मिनिट्रक, ट्याङ्कर र कन्टेनर गरेर गत वर्ष कुल एक हजार २२८ दर्ता भएका छन् । यही अवधिमा एम्बुलेन्स २० र माइक्रो बस एक हजार ४५७ दर्ता भएको कार्यालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ६३६ सवारीसाधान दर्ता भएको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा बढी निजी सवारीसाधन छन् । गत असारसम्म कार, जीप र भ्यान गरेर एक लाख ७८ हजार ९४६ दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २१ हजार ४४१ ट्रक र ट्याङ्करलगायत मालबाहक सवारीसाधान दर्ता भएका छन् । अहिलेसम्म नेपालमा १२ हजार ४१९ बस र सात हजार ४२८ मिनि बस दर्ता भएका छन् । दशैं तिहारलगायतका चाडपर्व र नयाँ वर्ष वा अरु कुनै अवसरमा विभिन्न छुट (अफर) हुने हुँदा निजी सवारीको बिक्री ह्वात्तै बढ्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.