राष्ट्रगान गाउँदै ‘विश्व यात्रा’मा गायक नेपाली
रामबहादुर थापा । बागलुङ, २४ फागुन : अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको समापन समारोह चलिरहेको थियो । उद्घोषकले राष्ट्रगानको सम्मान गर्न आग्रह गर्नुभयो । अघिपछिझैँ ‘रेकर्ड’ भएको राष्ट्रगान बजाइएन । राष्ट्रगान गाउन गायक रामजी नेपाली मञ्चअघि उभिनुभयो ।
नेपालीले गाउन शुरु गरेसँगै अतिथि र सहभागीले एकसाथ स्वर मिलाए । राष्ट्रगान सकियो । राष्ट्रगानको सम्मानमा उभिएका कोही पनि बसेनन् । नेपालीले जापानको राष्ट्रगान गाउन शुरु गर्नुभयो । मञ्चमै रहनुभएका जापानका मूर्तिकार जुनिचिरो सुगीमोतोले नेपालीसँगै गाउनुभयो ।
कार्यशालास्थलमा फहराइएको जापानको झण्डा हेर्नुभयो । देशप्रति सम्मान देखाउनुभयो । नेपालीले जापानपछि, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउनुभयो । कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारले गायक नेपालीसँगै राष्ट्रगान गाए । देश सम्झिए ।
समारोहमा रहेका सबै अतिथि, दर्शकले बाहिरी देशका राष्ट्रगान गाउँदा उभिएरै हार्दिकता जनाए । सद्भाव देखाए । नेपालीको राष्ट्रगान गाउने कलाबाट प्रभावित भए । गलकोट नगरपालिका–५ टेउवामा बुधबार आयोजित कार्यशालाको समापन समारोह गायक नेपालीको प्रस्तुतिले रोचक बन्यो ।
गायक नेपाली राष्ट्रगान गाउनकै लागि टेउवा पुग्नुभएको थियो । कार्यशालाको आयोजक गलकोट कला प्रतिष्ठानले पनि सहजरूपमा उहाँलाई समय दियो । यही फागुन ५ गतेदेखि शुरु भएको कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए ।
विदेशी मूर्तिकारको सम्मानका लागि उनीहरुकै देशको राष्ट्रगान गाएको नेपालीले बताउनुभयो । गायक नेपालीले विदेशी मुलुकका राष्ट्रगान गाएको यो पहिलोपटक भने होइन । सन् २०१५ देखि उहाँ विभिन्न २५ देशका राष्ट्रगान गाउँदै ‘विश्व यात्रा’मा निस्कनुभएको छ ।
“विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित राष्ट्रगान गाउँदै हिँडेको छु”, उहाँले भन्नुभयो, “सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य छ ।” ‘विश्व यात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने उहाँको सपना छ । गायक नेपालीका अनुसार विश्वमा आफ्नो छुट्टै राष्ट्रगान भएका देश जम्मा १९४ छन् ।
यात्राकै क्रममा गायक नेपाली भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डस पुगिसक्नुभएको छ । यो वर्ष श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशलगायतका देश घुम्ने योजना छ । उहाँले भारतका सात वटा प्रान्तमा पुगेको बताउनुभयो । “चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म पुगेँ, अघिल्लो महिना सिलगुढी थिएँ, कोरोनाको प्रभावले नेपाल फर्किएँ”, नेपालीले भन्नुभयो ।
बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मनुभएका उहाँले यात्राका सिलसिलामा नेपालकोसँगै सम्बन्धित देशको राष्ट्रगान गाउनुहुन्छ । “औपचारिक, अनौपचारिक दुवैरूपमा गाउँदै हिँडेको छु, उस्तै कार्यक्रम पर्दा धेरै देशको पनि गाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।
नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले विश्वयात्रामा निस्केको नेपालीको भनाइ छ । “संसारका सात अर्ब ७० करोड मानिसलाई एकपटक नेपाल आउनुस्, घुम्नुस् भन्न चाहान्छु”, उहाँले भन्नुभयो, “नेपालमा सधँै पर्यटन भन्ने मेरो आदर्श वाक्य छ, मेरो यात्राले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास छ ।”
बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी बोकेर ‘विश्व यात्रा’ गर्न पाउँदा गौरवबोध हुने गरेको गायक नेपालीको भनाइ छ । अहिलेसम्म कतैबाट कुनै सहयोग नलिई आफ्नै खर्चमा देश–विदेश पुगेको उहाँको भनाइ छ । “पछि सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ”, नेपालीले भन्नुभयो ।
४० वर्षीय उहाँ नेपाली साङ्गीतिक क्षेत्रको कुशल सर्जक पनि हुनुहुन्छ । झण्डै २५ वर्ष गायन र सङ्गीतमा बिताएको उहाँको भनाइ छ । उहाँका ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीत सार्वजनिक छन् ।
“अहिले पनि म सङ्गीतबाट टाढा छैन, विधामात्रै फेरिएको हो”, उहाँले भन्नुभयो, “बिहानदेखि राति अबेरसम्मै म नयाँ–नयाँ देशका राष्ट्रगान गाउन सिकिरहेको हुन्छु ।” उहाँले ‘गुगल’, ‘युट्युव’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोज्नुहुन्छ । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उहाँको भनाइ छ ।
भाइचारा र विश्वबन्धुत्वको सन्देश बोकेर ‘विश्व यात्रा’मा हिँड्नुभएका नेपाली हालै नवलपुरमा रहेको धार्मिकस्थल ‘शास्वत धाम’को सद्भावना दूतमा नियुक्त हुनुभएको छ । नेपालीका बुबा, आमा, श्रीमती र छोरी छिन् ।
