स्वआर्जनबाट आत्मनिर्भर बन्दै महिला
अन्जना पराजुली । विराटनगर, १८ फागुन : भक्का बेचेर जीवनयापन गर्ने मोरङ कटहरी गाउँपालिका–२ निवासी सुनिता राजवंशीको नाम अहिले परिवर्तन भएको छ । उहाँले गर्दै आउनु भएको कामको आधारमा धेरैले उहाँको नाम नै परिवर्तन गरी ‘भक्कावाली आन्टी’ भन्ने गर्दछन् । आफूले यो काम गर्न थालेपछि जीवनशैलीमा परिवर्तन भएको उहाँ बताउनुहुन्छ ।
चोकमा बिहान–बेलुकाको समयमा उहाँलाई भक्का बेच्न भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ छ । ‘‘काम सानो ठूलो हुँदैन आफूसँग भएको सीपको प्रयोग गर्नु राम्रो ठानेर नै मैले यो व्यवसायलाई रोजेँ’’, यहाँ भन्नुहुन्छ । चामलको पीठोबाट बनाइने भक्का पूर्वी तराईका जिल्लामा निकै लोकप्रिय खाद्य वस्तुको रुपमा लिने गरिन्छ ।
प्रायः धेरैले जाडोको मौसममा मात्र भक्का बेच्छन् तर आफूले वर्षभरि नै यसमा लागेको उहाँ बताउनुहन्छ । भक्का बेचेरै दिनको रु एक हजार ५०० सम्म कमाइ हुने गरेको उहाँको भनाइ छ । यसबाट उहाँलाई घरायसी खर्च पुगेको छ । सानो उमेरमा घरमा आमाले भक्का बनाएको देखेको बताउँदै उहाँले पछि आफूले यसैलाई पेशाका रुपमा अगाडि बढाएको उल्लेख गर्नुभयो ।
यस्तै मोरङको दुलारीं निवासी अम्बिका थपालियाको अब घरायसी प्रयोजनको सामान खरिद गर्न होस् वा आफ्नो नानीहरुको विद्यालयमा बुझाउनुपर्ने शुल्कको लागि श्रीमान्लाई खोज्न वा पर्खनुपर्ने दिनहरु हटेको छ । दुई वर्षदेखि दुलारीबाट विराटनगरसम्म आई सिटीसफारी (ब्याट्रीबाट चल्ने सवारीसाधन) चलाउन थालेपछि आफ्नो परिचय र जीवनशैलीमा परिवर्तन आएको बताउनुहुन्छ ।
आफ्नो कमाइको पैसा राख्न वा जम्मा गर्न थालेपछि कुनै पनि सामान लिनुपर्दा श्रीमानसँग पैसा माग्नु पर्ने बाध्यता छैन । ‘‘आफैँले आम्दानी गर्न सक्दा आनन्द हुने रहेछ’’ उहाँ भन्नुहुन्छ । पहिला सधैँ अभाव हुने बितेका दिन सम्झँदा कामप्रति झन् जोस बढेर आउने थपलिया बताउनुहुन्छ ।
शुरुशुरुका दिनहरुमा सफारी कुदाउन अलि अप्ठ्यारो लागेको तर विस्तारै बानी बसेको उहाँको अनुभव छ । जिन्दगीलाई राम्रो र सुख बनाउने कुरा आफ्नै हातमा हुने भनाइ रहेको छ । सिटीसफारीबाट राम्रो आम्दानी भइरहेको र आफू सन्तुष्ट रहेको बताउनुहुन्छ ।
यस्तै विराटनगर–१२ की शर्मिला तामाङ आफूले कपडा सिलाइको काम गरेको एक वर्ष भएको बताउनुहुन्छ । कपडा सिलाउने तालीम लिन धेरै खर्च नलाग्ने र सानो लगानीबाट शुरु गर्न सकिने उहाँको भनाइ छ । विभिन्न डिजाइनको लुगा सिलाउन आफूलाई रमाइलो लाग्ने र यसबाट आफ्नो आम्दानी राम्रो भएको प्रतिक्रिया दिँदै दुई/चार पैसाको लागि कसैसँग हात फैलाउनु नपरेको भनाइ तामाङको छ । काम गर्न अल्छी र लाज मान्नु हुँदैन, काम गरेर खान लाज होइन भन्ने विचार र धारणा ल्याउनुपर्ने बताउनुहुन्छ ।
त्यस्तै अर्की महिला राधा चौधरी सधैँजसो लाग्ने साप्ताहिक हाटमा गएर थरिथरि खालको दाल, चना, हर्दी, कुचोजस्ता सामानको बिक्री गर्ने काम गर्नुहुन्छ । उहाँले साप्ताहिक हाटमा सामान बिक्री गर्न थालेको तीन वर्ष भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘आफ्नो कामलाई म सधैँ सम्मान गर्ने गर्छु ।’’ सामान खरिद गर्ने उहाँका आफ्नै ग्राहक छन् ।
कामलाई सम्मान गर्ने र पेशामा इमान्दार भएपछि व्यवसाय सञ्चालन गर्न कठिनाइ नहुने उहाँको तर्क छ । पहिला परिवारबाट आफूलाई साथ सहयोग नभएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘पारिवारिक असहयोगले नै मलाई काम गर्ने कुरामा अझ बढी प्रेरणा मिल्यो ।’’ काम गर्न थालेपछि राम्रो आम्दानी भएको छ र परिवारदेखि समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको उहाँको भनाइ छ ।
