परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

विष्णु नेपाल । खलगाढ (बैतडी), २७ वैशाख : ‘धक्का पाउन्या हम, सुख पाउन उन । धक्या नपाउन्या गोली हाल्न आया हुन ।’ मेलौली नगरपालिका–५ का २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्कीले एकै स्वरमा लजाउँदै भन्नुभयो । उहाँहरुले लगाएको कुर्ता पसिनाले निर्थुक्क भिजेको देखिन्थ्यो । “करीब दुई घण्टाको उकालो र एक घण्टाको तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौँ”, स्वाँस्वाँ गर्दै उहाँहरुले थप्नुभयो ।

कार्यालय सहायक कमला दमाईं उहाँहरुलाई देख्नेबित्तिकै औधी रमाउनुभयो । “गहँु थन्क्याउन लागेका थियौँ आउन अलि ढिलो भो”, उहाँहरु भन्दै हुनुहुन्थ्यो । गाउँमा एकदशक महिला स्वयंसेविकाको रुपमा सेवा गरेकी सहायक दमाईंले तीनैजनालाई जस्ताको टिनले छाएको मक्किसकेको स्वास्थ्य चौकीको पुरानो भवनमा रहेको प्रसूति सेवा तथा परामर्श कोठामा लिएर जानुभयो ।

परिवार नियोजन सेवाका लागि ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ का कलावती चौधरी, माधवी भट्ट र अस्मिता बोहरा कोठामा हुनुहुन्थ्यो । उहाँहरुले परिवार योजनाको महत्व, पुरुष तथा महिलाका परिवार नियोजनको अस्थायी एवं स्थायी विधि, जन्मान्तरले महिलाको स्वास्थ्य तथा समग्र जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा करीब एक घण्टा परामर्श दिनुभयो ।

तीन छोरा र एक छोरीकी आमा हासा, एक छोरा एक छोरीकी आमा हरिना र दुई छोरीकी आमा लक्ष्मी परिवार नियोजनको सेवा लिन तयार देखिनुभयो । किन सबैले इम्प्लान्ट नै रोज्नुभयो ? “धक्का पाउन्या हम, सुख पाउन उन । धक्या नपाउन्या गोली हालेका हाँै । डर लागिरहेको थियो । केही भएन ।” एकै स्वरमा सुनाए । पाखुराको भित्री भागमा राख्ने परिवार नियोजनको पाँच वर्षे अस्थायी साधन (लचिलो रड)लाई यहाँका महिलाले गोली राख्ने भन्दछन् ।

यो वडा नगरपालिका तथा जिल्लाभित्रको दुर्गम वडाभित्र पर्दछ । यहाँका अधिकांश पुरुष रोजगारीका लागि भारत जाने गर्दछन् । गाउँमा महिला, बालबालिका तथा वृद्धवृद्धा मात्र देख्न सकिन्छ । खेती लगाउने, थन्क्याउने तथा चाडपर्वमा मात्र पुरुषको घरमा रहने गर्दछन् । यहाँका बासिन्दा गहुँ, मकै, धानजस्ता अन्नपात उब्जनीले मुश्किलले चार महीना मात्र जीविकोपार्जन हुन्छ ।

“मैले आठ सन्तानको जन्म दिए । अहिले तीन छोरी र दुई छोरा रहेका छन् । तीन सन्तान अकालमै मरे । स्थायी बन्ध्याकरण गरिसकेँ । मैले जस्तो करले सन्तान जन्माउन नपरोस् भन्नाका लागि मैले ती बहिनीलाई उनीहरुको घरमा तीनपटकसम्म पुगी आज आउन भनेको हुँ”, ३४ वर्षीया स्वास्थ्य सहायक सार्कीले भन्नुभयो ।

पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसङ्ख्या २३ हजार मात्र रहेको छ । तीमध्ये वडा ५ मा दलित समुदायका सार्की, आउजी, दयाल, दमाईं र पार्कीको बाहुल्यता रहेको छ । स्वास्थ्य चौकीका अनमी बिन्दा सावद भन्नुुहुन्छ, “पुरुषलाई परिवार नियोजनका साधन ढाल प्रयोग गर भनेर दियो मान्दैनन् । सुने नसुनेको जस्तो गर्दछन् । कति सम्झाउनु । अहिले त टोलमा दुई वटा सन्तान भएपछि महिलालाई अस्थायी साधन आइयुसिडी र इम्प्लान्ट राख्न सम्झाउँछौँ । कतिले लोग्नेलाई जानकारी नै नदिइ पनि राख्न थालेका छन् । चेतना नहुनेलाई भन्दा चेतना हुनेलाई सम्झाउन मुस्किल छ ।”

उहाँले आफँैले आइयुसिडी प्रयोग गर्नुभएको छ । तामाको तारले बेरिएको पाठेघरमा राख्ने प्लास्टिकको साधनलाई ‘आइयुसिडी’ भनिन्छ । परिवार नियोजनको सबैभन्दा भरपर्दाे साधन मानिएको यसले १२ वर्षसम्म काम गर्दछ । चाहेको सयममा झिक्नसमेत मिल्छ । “फागुनमा मात्र गाउँका दुई बुहारी नाता पर्नेलाई यहाँ बोलाएर इम्प्लान्ट राख्न लगाए । दुई महीनासम्म छोरा मुख बोेलेनन् । अहिले राम्रो गर्नुभएछ भन्दछन् । एक जना बोलेर केही नहुने रहेछ । समूह बोल्नुपर्छ”, अनमी सावदले दुखेसो पोख्नुभयो ।

यहाँ हरेक महीनाको ८ गते आमा समूहको भेला हुने गर्दछ । भेलामा गर्भवती आमा, उनीहरुका स्वास्थ्य जाँच भए÷नभएका, उनीहरुका अवस्था, स्तनपान, खोपको मात्रा पोषण, सरसफाइ र परिवार नियोजनका अस्थायी साधन पुरुषले प्रयोग गर्ने कण्डम तथा महिलाका लागि पिल्स, डिपो, आइयुसिडी र इम्प्लान्टका बारेमा खुलेर महिला स्वयंसेविकाले समूहको बैठकमा जानकारी दिन्छन् ।

“परिवार नियोजनका अस्थायी साधन तथा बन्ध्याकरण गरेपछि बिटुलो होइन्छ, पूजा चल्दैन । शरिर कमजोर हुन्छ । भन्ने मान्यताले यहाँ जरो गाडेको छ । महिलालाई सम्झाउन सजिलो छ, पुरुषलाई अप्ठ्यारो छ”, महिला स्वयंसेविका सरस्वती जोशी भन्नुहुन्छ ।”

श्रीमान् आए साधन लिए : श्रीमान् गए साधन छाडे    

विशेष गरी रोजगारीमा गएका श्रीमान् घर फर्किने थाहा पाएपछि महिला परिवार नियोजनका अस्थायी साधन लिन स्वास्थ्य संस्थामा आउने गर्दछन् । उदयदेव स्वास्थ्य चौकीका अहेब देवराज न्यौपाने भन्नुहुन्छ, “श्रीमान् आउने जानकारी भएपछि स्वास्थ्य संस्थामा महिला परिवार नियोजनको अस्थायी साधन लिन आउँछन्, श्रीमान् गएपछि साधन छाड्ने बानीमा सुधार हुँदै गएको छ ।”

शिवनाथ गाउँपालिकामा यो स्वास्थ्य चौकी रहेको छ । कफाडी गाउँबाट चार घण्टा हिँडेर स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाउन आउनुभएकी लक्ष्मी चन्दले महिलालाई आत्मनिर्भर, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाउन तथा स्वास्थ्य अवस्था माथि उकास्न परिवार नियोजन सेवा वरदान सावित हुने अनुभव सुनाउनुभयो । २९ वर्षीया दुई छोराकी आमा चन्दले भन्नुभयो, “धेरै सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्छ । केही काम गर्न पनि पाइँदैन ।”

यहाँका पाँचभन्दा बढी सन्तान भएका महिलाले परिवार नियोजनका लामो अवधिका सेवा प्रयोग गरी नयाँ उदाहरण देखाएका छन् । मेलौली नगरपालिका वडा नं १ की तीन छोरा र तीन छोरीकी ३५ वर्षीया गीता दमार्इं, वडा नं ३ की ४० वर्षीय दुई छोरा र चार छोरीकी जानकी लुहार, शिवनाथ गाउँपालिका वडा ६ की एक छोरा र सात छोरीकी ३५ वर्षीया बिर्मा पार्की, पञ्चेश्वर गाउँपालिका वडा नं ५ रोडीदेवलकी तीन छोरा र तीन छोरीकी ४३ वर्षीया मथुरा भण्डारी तथा सोही वडाकी छ छोरी र एक छोराका ३३ वर्षीया लक्ष्मी भण्डारीले परिवार नियोजनको आइयुसिडी प्रयोग गरेका छन् । पार्कीले भन्नभयो, “परिवार नियोजनको सेवा सहज पहुँच भएपछि सेवा लिएको हुँ । पहिलापहिला कहाँ पाइन्थ्यो ।”

अर्काेतर्फ दुई छोरी मात्र भएका महिलाले ती साधन प्रयोग गरी व्यवस्थित परिवार योजना बुनेका छन् । पाटन नगरपालिका वडा नं ५ सिलङ्गाकी २८ वर्षीया पद्मा पन्तको आठ र एक वर्षीया छोरी तथा वडा नं १ सकारकी २४ वर्षीया दुरा भट्टराईको सात र चार वर्षीया छोरी रहेका छन् । आइयुसिडी प्रयोग गरेकी कक्षा ८ मात्र उत्तीर्ण गर्नुभएकी भट्टराईले भन्नुभयो, “छोरा र छोरीमा फरक छैन ।”

यहाँ परिवार नियोजनको सेवाका लागि स्वास्थ्य संस्थामा ‘सेवा छ, पहुँच छैन, पहुँच छ सेवा छैन’ प्रमुख समस्या रहेको थियो तर बैतडी जिल्लामा यो अवस्था अन्त्यतर्फ उन्मुख हुँदै गएको छ । जिल्लाका ६८ वटा स्वास्थ्य संस्थामा परिवार नियोजनका सेवामा सहज पहुँच रहेको बताइन्छ ।

के हो भिजिटिङ सर्भिस प्रोभाइडर्स

लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को प्राविधक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ यो कार्यक्रम कार्यान्वयन गरिराखेको छ ।

कार्यक्रमका जिल्ला संयोजक गणेश शाहीले बैतडी जिल्लाका सन् २०१९ मा परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट र आयुसिडी प्रयोग गर्नेको सङ्ख्या ९८९ पुगेको जानकारी दिनुभयो ।

कार्यक्रमले विशेष गरी इम्प्लान्ट र आयुसिडी राख्न र झिक्नसमेत ज्ञान र सीप भएका नेपाल सरकारका स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीलाई तालीम दिइ जिल्लामा सबै स्वास्थ्यमार्फत सेवा दिइराखेको छ । अर्काेतर्फ सरकारी स्वास्थ्यकर्मीका साथमा तीन वटा समूह जिल्लाभर परिचालन भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal