बिआरआइले जोड्न खोजेको विश्व

दिलीपप्रसाद शर्मा । काठमाडौँ, १४ वैशाख : चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)’ को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो । चीन र यहाँका उच्च अधिकारीको विचारमा बिआरआई सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ ।

रेशमी मार्ग इसापूर्व १३० हान वंशको शासन कालमा सुरु भएको थियो । जसले चीनलाई सिआनबाट रोमन साम्राज्यसँग जोडेको थियो । रेशमी मार्गको बहुवाणिज्य रुटले चीन, भारत, अरब, ग्रिस, रोम र समुद्र छुने अन्य मुलुकसँग जोडेको थियो । अहिले त्यही सञ्जाल ब्युँझाएर चीनले ती मुलुकले प्रशस्त आर्थिक लाभ लिउन् भन्ने चाहेको बताउँदै आएको छ । ‘बेल्ट एन्ड रोड’ भित्र प्रत्यक्ष रूपमा एसिया, युरोप र अफ्रिका समावेश छन् । रेशमी मार्ग आर्थिक क्षेत्र र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई नै परिमार्जित भाषामा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् बिआरआई भनिएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै सीले बेल्ट एन्ड रोडको निर्माणबाट विश्व अर्थतन्त्रको नयाँ ढोका खोलिने बताउनुभयो । यस परियोजनाले विश्वमा व्यापार र लगानीको विस्तार गर्ने वातावरण तयार गर्नुका साथै सहभागी देशका जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। साझा निर्माणलाई उच्च गुणस्तरको विकासबाट अगाडि बढाउने, साझा परामर्श, साझा निर्माण र साझा आदानप्रदानको सिद्धान्त बमोजिम खुला, हरित र स्वच्छ धारणालाई कायम राख्दै दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन प्रयास गर्नुपर्ने पनि बताउनुभएको छ ।

इसापूर्व १३० ताका हान वंशको शासन कालमा सुरु भएको रेशमी मार्गलाई विश्वकै ऐतिहासिक मार्ग भएको भन्दै चीनले यसलाई पुनः ब्युँताउँदै सोच राखेको हो । हुनतः बिआरआई चीनको खुला बजार नीतिको प्रभाव विश्वका सबै क्षेत्रमा फैलाउने र चीनबारे रहेका गलत बुझाईलाई स्पष्ट पार्ने अवसरको उचित तथा सहज योजनाका रूपमा आएको देखिन्छ । अर्को शब्दमा भन्दा आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बिआरआई’ हो ।

बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्धाटन समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बेल्ट एण्ड रोडको संयुक्त निर्माण गरी विश्वका विभिन्न मुलुकलाई नयाँ विकासको अवसर प्रदान गर्ने कुरामा जोड दिनुभयो । उहाँले चीनको खुला विकासलाई पनि नयाँ चौतारो खोलेको बताउनुभयो ।

विभिन्न पक्षले संयुक्त समन्वय, संयुक्त निर्माण र संयुक्त उपभोगको नीतिलाई अपनाएर खुला, हरित, कर्तव्यनिष्ठ विकासको विचारधाराको पालना गरी बेल्ट एण्ड रोडको निर्माणलाई उच्च स्तरीय गुणस्तर विकसित दिशातिर सार्ने सीले बताउनुभयो । उहाँले चीनले शङ्खलावद्ध महत्वपूर्ण सुधार र खुलापन नीतिलाई लागू गर्दै उच्च स्तरीय विदेशी खुलापनलाई अघि बढाउने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा चीनले आधुनिक सेवा उद्योग, कृषि र उत्पादन उद्योगमा खुलापन बढाउँदै बढी क्षेत्रमा वैदेशिक लगानी प्रवेशका लागि अनुमति दिने बताउनुभयो ।” योजना अन्तर्गत चीनले केही नयाँ स्वतन्त्र व्यापारिक क्षेत्र र स्वतन्त्र व्यापारिक बन्दरगाह निर्माण गर्ने पनि उक्त अवसरमा सीले बताउनुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससमेतले सम्बोधन गरेको उद्धाटन समारोहमा चीनद्वारा अघि सारिएको उक्त विआरआई योजनाको सफलताका लागि विचार व्यक्त गरिएका थिए । उहाँहरुले चिनियाँ राष्ट्रपति सीले घोषणा गर्नुभएको सुधार र खुलापन नीतिमाथि उच्च मूल्याङ्कन गर्नुका साथै विश्व समक्ष संरक्षणवादको समस्या रहेको र चीनले स्वतन्त्ररूपमा सबैलाई समेट्ने गरी सुधारलाई गहिरो पारेको तथा खुलापनलाई अझ विस्तृत पारेर विभिन्न मुलुकको विकासमा अझ ठूलो अवसर प्रदान गरेको बताउनुभयो ।

सम्मेलनको दोस्रो सत्र उच्चस्तरीय वार्तामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको छ । उहाँले सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको भन्दै महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गर्नुभएकोमा चिनियाँ राष्ट्राध्यक्षलाई धन्यवाद दिनुभयो ।

जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाइ दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्राध्यक्ष सीको दूरदृष्टिले विशाल सम्भावना बोकेको र बीआरआईले दिगो विकासका लक्ष्यहरू कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने सम्भावना बोकेको छ ।”

संयुक्त राष्ट्रसंघ, बीस मुलुक समूह, एपेक र अन्य संघसंस्थाका दस्तावेजहरूमा भित्री अवधारणाका रूपमा बिआरआई प्रवेश गरिसकेको छ । बिआरआईले आफ्नो मार्गदर्शनमा विशेषगरी सम्बन्धित मुलुकको सार्वभौमिकता तथा सुरक्षा चासोको सम्मान गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । रेल, सडक, सामुद्रिक तथा हवाई मार्ग, पाइपलाइन, सूचना सञ्जालजस्ता जटिल पूर्वाधार सञ्जाललगायत सबै क्षेत्र र बहुतहमा यसले काम गर्ने चीनको भनाइ रहँदै आएको छ ।

चिनियाँ राष्ट्रपति सी चिन फिङले बिआरआईले अन्तर्राष्ट्रिय आर्थिक साझेदारी कोरिडरको अवधारणालाई बृहत् परियोजनाका रूपमा अगाडि सारेको बताउँदै आउनुभएको छ । नयाँ एसिया–युरोप कन्टिनेन्टल पुल, चीन–मंगोलिया–रुस, चीन–केन्द्रीय एसिया–पश्चिम एसिया, चीन–इन्डोचाइना प्रायद्वीप, चीन–पाकिस्तान र बंगलादेश–चीन–म्यान्मार गरी छ ठूलाअन्तर्राष्ट्रिय कोरिडर रहने छन् र यी कोरिडरले एसियाली अर्थतन्त्रको सञ्जाललाई युरोपियन अर्थतन्त्रको सञ्जालसँग जोड्नेछन् र बहुराष्ट्रिय साझेदारी सशक्त बनाउनेछ । बिआरआईमा भारत औपचारिक रूपमा प्रवेश गरेपछि चीन–नेपाल–भारत आर्थिक कोरिडर निर्माण हुने चीनले पहिले नै बताइसकेको छ ।

खासगरी बेल्ट अन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एशिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ भने रोड अन्तर्गत सामुद्रिक मार्ग तथा बन्दरगाहहरूमार्फत् दक्षिणपूर्वी एशिसिया, खाडी क्षेत्र, उत्तर अफ्रिका तथा युरोपसम्म जोड्ने सञ्जालको कुरा गरिएको छ । तर त्यो केवल त्यतिमा मात्र सीमित नभई ऊर्जा, सञ्चार एवम् व्यापार सहजीकरणजस्ता विषय पनि केन्द्रित गर्ने चीनको पहल छ ।

बेइजिङमा बीआरआईको दोस्रो फोरममा सहभागी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसमा नेपालको चासो प्रकट गर्दै बीआरआईले दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न सघाउने शुक्रवार बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि सामाजिक, आर्थिक विकासका लागि कनेक्टिभिटी अति महत्त्वपूर्ण छ। नेपाल(चीन सीमापार रेलवे समेटिएको हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको विकासले नेपाल र चीनमात्र नभई यस क्षेत्रका अन्य देशबीच पनि सम्पर्क बढाउनेछ ।” हाल बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्राउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनीहरूको पहिचान भइसकेको छैन ।

विकासलाई प्राथमिकतामा राख्दै सबै राष्ट्रको विकास सम्भावना उजागर गर्ने, आर्थिक पूर्णता प्राप्त गर्ने, विकासलाई आपसमा जोड्ने र नतिजा साझेदारी गर्ने लक्ष्य बिआरआईले लिएको छ । विगत दुई बर्षको अवधिमा नेपालले बिआरआईकै लागि भनेर ठोस परियोजना उल्लेख्य रूपमा अगाडि बढाउन सकेको देखिँदैन । बूढीगण्डकी परियोजनालाई चीनले बिआरआईभित्र राखेको छ । सो परियोजना पनि मुआब्जा र आन्तरिक कानुनी अड्चनमा अल्झिरहेको छ । यसबीच नेपालले स्पष्ट रूपमा बिआरआईसामु केही परियोजना पेस गरेको भए अहिलेसम्म निकै उपलब्धि प्राप्त गरिसकेको हुनसक्ने विश्लेषकहरू बताउँछन् ।

विश्वमा आयोजना गरिने अन्य सम्मेलनभन्दा बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च केही पृथक मानिनु यसले अन्य देशको लगानी आफूतर्फ आकर्षित गर्ने नभै विश्व विकासका लागि अन्य मुलुकमो बिआरआईमार्फत् गरिने लगानी हो । यस अभियानबाट विश्वमा एकछत्र प्रभाव पारिरहेको अमेरिकालाई चीनले चुनौति थपेको छ । सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा बीआरआईलाई अँगालेको चाहिँ सन् २०१७ को मे १२ मा मात्र हो । भारत, इयूका अधिकांश मुलुक यस योजनाप्रति सकारात्मक देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.