दक्षिण एशियाको उदाउँदो तारा वैदेशिक लगानी कुर्दै

तीर्थ भट्टराई । कठमाडौँ, २६ चैत : नेपालको समृद्धिको चाहना र विकासका सम्भावनाबारे बहस गर्दै तथा नेपालका लागि सुनौलो भविष्यको ढोका खोल्दै सम्पन्न भएको लगानी सम्मेलन –२०१९ ले विश्वलाई नै नेपालमा लगानीका लागि आकर्षण गरेको छ । धेरैले यहाँ हुन लागेको सम्मेलनलाई शङ्काको दृष्टिले हेरेको र त्यो पनि विगतका लगानी सम्मेलनझैँ केवल प्रचारबाजीमा सीमित हुने तर कार्यान्वयन नहुने कुराको अर्थमा लिए पनि सम्मेलनमा जुनस्तरको उत्साह र सहभागिता भयो र जे जति सम्झौता वा समझदारी भए त्यसले हाम्रो विकासको मार्गमा हामीलाई सहयोग गर्न विश्वभरका हाम्रा मित्रहरु तम्तयार छन् भन्ने देखाएको छ । सरकारले केही पनि गरेको छैन र केही पनि गर्न सक्दैन, भाषण मात्र गर्छ भन्नेहरुलाई पनि सम्मेलनका उपलब्धिले साँच्चै झक्झकाएको हुनुपर्छ ।

यस पटक सरकारले राम्रै गृहकार्य गरी सम्मेलनको आयोजना गरेको थियो । सरकारले लगानीका लागि रु ३० खर्बभन्दा बढीका ७७ आयोजना सम्मेलनमा प्रस्तुत गरी लगानी आह्वान गरेको थियो । ती आयोजना कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य गरी सात क्षेत्रका थिए । ती आयोजनामध्ये सरकारले ५० प्रस्तुत गरेको थियो भने निजी क्षेत्रसंँगको सहकार्यमा २७ निजी क्षेत्रका समेटिएका थिए । यसरी ७७ आयोजनामा नेपाल सरकारको प्राथमिकता र निजी क्षेत्रको चाहना दुवै प्रतिविम्बन भएको थियो । प्रस्तुत आयोजनामध्ये समझदारीपत्रमा हस्ताक्षर भएका आयोजनाको अनुमानित लागतअनुसार रु १७ खर्बभन्दा बढीको लगानी प्रतिबद्घता आएको छ । सम्मेलनमा ४० देशका ६३५ प्रतिनिधिले भाग लिएका थिए । सम्मेलनमा ती देशका सरकारी, निजी क्षेत्रका कम्पनी, दातृ निकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिले भाग लिएका थिए ।

यही चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको दुईदिने सम्मेलनमा १५ वटामा लगानीका लागि समझदारीपत्रमा हस्ताक्षर तथा लगानी गर्ने घोषणा भयो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता पाएको नेपालमा संरचनागत सुधार गर्दै लगानीका लागि उपयुक्त वातावरण बनाइएको र लगानीकर्तालाई अनलाइन रजिष्ट्रेशनदेखि एकद्वार प्रणालीबाट सेवासुविधा उपलब्ध गराइने र लगानीको प्रतिफल लैजान झन्झटिला प्रक्रिया हटाइएको जानकारी दिनुभयो ।

उहाँले विभिन्न पूर्वाधारका आयोजना निर्माण गर्न सहज हुने, विद्युत्को उपलब्धता तथा दुई ठूला अर्थतन्त्रबीच नेपालको रणनीतिक अवस्थितिले बजारको समस्या नहुनेमा लगानीकर्तालाई आश्वस्त पार्नुभएको थियो । सार्क, बिम्स्टेकलगायत क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र नेपालको छिमेकी राष्ट्रसंँग विद्युत् व्यापार सम्झौता भएकाले पनि यहाँ लगानी गर्दा ऊर्जा निर्यात तथा बजारको समस्या नहुने उहाँले बताउनुभएको थियो ।

यसैगरी अर्थमन्त्री युवराज खतिवडाले नेपालमा कृषि, पर्यटन, उद्योग र ऊर्जा क्षेत्रमा लगानीका अवसर उपलब्ध भएको र कानूनी प्रक्रियामा सुधार गरी एकद्वार प्रणाली लागू गरिएकाले लगानीकर्तालाई सहज हुने तथा यहाँ आन्तरिक मागसमेत पूरा गर्न नसकिएकाले बाह्य मागमा मात्र भर पर्नुपर्ने नभई देशभित्रकै मागबाट पनि उत्पादनको खपत हुने बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले देशमा शान्तिपूर्ण वातावरण रहेको र प्रधानमन्त्रीले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा ल्याउनुभएकाले लगानीका लागि सकारात्मक अवस्था रहेको बताउनुभयो ।

सिंगापुरको मेनहार्ट ग्रुपका सहभागी डा शाहजाद नसिमले सिंगापुरमा खानेपानीको समेत खासै स्रोत नभएको र मलेसियाबाट आयात गर्नुपर्ने भए पनि रणनीतिक अवस्थितिले गर्दा ठूलो बन्दरगाहको विकास गर्न सकिएको र विकासको मार्गमा अग्रसर भएको बताउँदै नेपालमा त धेरै प्राकृतिक स्रोत भएकाले विकास गर्न नसकिने स्थिति नभएको बताउनुभएको थियो ।

नेपाली काँग्रेसका नेता रामशरण महतले नेपालमा सन् १९९० को दशकदेखि नै उदारवादको नीति अपनाइएकाले तथा हाल राजनीतिक अस्थिरता नभएको तथा बजारको समस्या पनि नरहेकाले लगानीका लागि उपयुक्त अवसर रहेको बताउनुभएको थियो । उद्घाटन सत्रमा विश्व बैंकका उपाध्यक्ष हार्टविग शाफर तथा एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनको पनि उपस्थिति हुनु र उहाँहरुले पनि नेपालमा लगानीका सम्भावनाबारे सहभागीमाझ उजागर गर्नु नेपालका लागि राम्रो शुभसङ्केतका रुपमा पनि बुझ्न सकिन्छ ।

यसैगरी म्यान्माका मन्त्री उ थाउङ तुन तथा भारतको मुथुट ग्रुपका एमजी जर्ज मुथुटले पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको भनी प्रकाश पार्नुभएको थियो ।

पहिलो दिनको नेपालमा लगानीका अवसर विषयको प्यानेल छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ रहेको, कानूनी तथा प्रशासनिक प्रक्रियामा सुधार गरिसकिएको र यहाँ उच्च प्रतिफल प्राप्त हुने हुँदा लगानीका लागि उपयुक्त रहेकाले लगानीका लागि आह्वान गर्नुभयो ।

ऊर्जासम्बन्धी सत्रको अध्यक्षता गर्दै ऊर्जामन्त्री वर्षमान पुनले नेपाल सरकारले आगामी १५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले विद्युत्मा लगानी गर्न आह्वान गर्नुभयो ।

सिनियर डिभिजनल इञ्जिनीयर सागरराज गौतमले प्रस्तुत गर्नु गरेको कार्यपत्रमा छलफल गर्दै बङ्गलादेश पावर डिभलपमेन्टका प्रमुख इञ्जिनीयर महबुर रहमानले बङ्गलादेश नेपालबाट विद्युत् आयात गर्न तयार रहेको बताउनुभयो ।

यसैगरी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सत्रको अध्यक्षता गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाललाई डिजिटल देश बनाउने प्रतिबद्घताका साथ सञ्चार क्षेत्रमा लगानी आह्वान गर्नुभयो ।

जापानी कम्पनीका मासाहिरो मियासिता, अमेजन इन्टरनेट भारतका चन्द्र बलानी, माइक्रोसफ्ट एशियाका सोनिया बसिर कविर आदिले पनि नेपालमा लगानीका लागि उपयुक्त अवसर रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा भएको औद्योगिक आधार तथा रोजगार सिर्जना सत्रमा उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले प्रस्तुति गर्नुभएको थियो ।

दोस्रो दिनको तेस्रो सत्रमा भएको यातायात पूर्वाधार बारेको सत्रको अध्यक्षता गर्दैै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालले पूर्वपश्चिम रेलमार्ग, काठमाडौँ–केरुङ तथा काठमाडौँ—रक्सौल रेलमार्ग निर्माणलाई प्राथमिकता दिएको र यातायातका पूर्वाधारका क्षेत्रमा लगानीको अवसर भएकाले लगानीका लागि आह्वान गर्नुभयो ।

कृषि तथा वनजन्य उत्पादनसम्बन्धी सत्रको अध्यक्षता गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालले कृषि, वनजन्य जडीबुटी उत्पादन तथा कृषि पर्यटनको विकासलाई प्राथमिकता दिएकाले यस क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो ।

पर्यटन सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले गर्नुभएको थियो । छलफलमा माइक बोल्सोभर, मकाउ विश्वविद्यालयका एसोसियट प्रोफेसर ग्लेन म्याक्कार्टनी, अकिहिको होरी तथा नेपाल पर्यटन बोर्डका दीपकराज जोशीले नेपालमा सगरमाथा, लुम्बिनीलगायत पर्यटनस्थल धेरै भएका र पर्यटनको प्रशस्त सम्भावना भएकाले लगानी गरेमा राम्रो प्रतिफल पाइने बताउनुभयो ।

कार्यक्रममा विभिन्न प्यानेल छलफलमा सहभागीले नेपालको भौगोलिक अवस्थिति, प्राकृतिक सा्रेत, हाल प्राप्त राजनीतिक स्थिरता, कानूनी तथा संरचनागत सुधार, सरकारको प्रतिबद्धता, बजारको उपलब्धता आदिका कारण नेपालमा लगानीको उपयुक्त वातावरण भएको बताउनुभएको थियो ।

कतिपय वक्ताले त नेपाललाई दक्षीण एशियाको उदाउँदो ताराका रुपमा समेत चित्रण गर्नुभएको थियो । यसबाट विदेशी सङ्घसंस्था तथा लगानीकर्ताका दृष्टिमा नेपालको छवि कस्तो हुँदै गएको छ भन्ने स्पष्ट झल्किन्थ्यो । सम्मेलनको समापनको अध्यक्षता गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक स्रोतयुक्त राष्ट्र नेपालमा शान्ति प्रक्रियाको अन्त्यपछिको स्थिरताको वातावरण सिर्जना भएकाले लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गर्नुभयो ।

नेपालका अग्रणी उद्योगपति विनोद चौधरी, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, स्काइ पावरका केरी एडलर तथा टर्कसेलका कान टर्जीओग्लुले नेपालमा विभिन्न क्षेत्रमा लगानीको वातावरण बन्दै गएको र प्रशस्त अवसर भएको बताउनुभएको थियो । सम्मेलनको अन्तिम दिन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी सम्झौता भयो जुन सबैभन्दा ठूलो लगानीको हो । धेरै वर्षदेखि चर्चामा रहेको सो आयोजनाको लामो अलमलपछि बल्ल लगानी जुटेको छ ।

भारतको सतलज जलविद्युत् निगमले निर्माण गर्ने सो आयोजनामा स्टेट बैंक अफ इण्डिया, नेपालको एभरेष्ट बैक र नविल बैंकले लगानी गर्ने भएका छन् । सोअन्तर्गत स्टेट बैँकले रु ६५ अर्ब ६० करोड तथा एभरेष्टले करीब रु ८ अर्ब १३ करोड र नविलले करीब रु चार अर्ब ८८ करोड लगानी गर्नेछन् । आयोजनाको कूल लागत रु एक खर्ब १२ अर्ब २८ करोड छ । लगानीका लागि हस्ताक्षर भएका अन्य ऊर्जा आयोजनामा ६०० मेगा वाटको सौर्य ऊर्जा परियोजना, १६४ मेगावाटको कालीगण्डकी गर्ज परियोजना, यसैगरी अर्को परियोजना १८ मेवाको सोलार, ९८ मेगावाटको जलविद्युत् र १० मेगावाटको वायु ऊर्जाको आयोजना पनि रहेको छ ।

हस्ताक्षर भएका अन्य महत्वपूर्ण परियोजना तथा लगानी प्रतिबद्धतामा मल्टिमोडल लजिस्टिक पार्क, ६०० मेगावाटको सौर्य ऊर्जा, फाइभ जी मोवाइल नेटवर्क, प्रदेश २ मा सौर्य ऊर्जा, सिमरा विशेष आर्थिक क्षेत्र निर्माण, गैरआवासीय नेपाली सङ्घको रु १० अर्बको लगानी कोष आदि छन् । सम्मेलनमा १३ परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भयो भने दुई वटामा लगानी घोषणा भयो । यसैगरी १७ परियोजनाका लागि निवेदन दिइएको पनि लगानी बोर्डले जनाएको छ ।

सम्मेलनले नेपालको वर्तमान अवस्था, समृद्धिको चाहना, सम्भावना आदिलाई विश्वसमक्ष उजागर गरेको छ भने विश्वले नै नेपालको यस चाहनाप्रति चासो देखाएको छ । विश्वभरका लगानीकर्ताले नेपालको उज्ज्वल भविष्यतर्फ पनि सङ्केत गरेका छन् । सानैस्तरमा भए पनि जुन लगानी प्रतिबद्घताहरु आएका छन्, तिनले नेपालप्रति विश्वको ध्यान खिंचेका छन् र नेपालको प्राकृतिक स्रोत नेपालीको समृद्घि मात्र होइन दक्षिण एशियाकै हितमा पनि प्रयोग गर्न सकिन्छ भन्ने महसुस गराएको छ ।

सम्मेलनमा भएको अहिलेको लगानी प्रतिबद्घताले आगामी दिनमा अरु ठूला आयोजनामा पनि विश्वभरबाट लगानी आकर्षण गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal