अझै फेरिएन उदयपुर गढी
गाईघाट उदयपुर, ३ भदौ : उदयपुर गढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेजस्तै यहाँको अवस्था पनि उस्तै छ ।
पृथ्वीनारायण शादेखि यता दर्जनांै परिवर्तन भए तर यो ऐतिहासिक गढी आज पनि विगतको जस्तै छ, फेरियन । देशमा आएको परिवर्तन र विकासले यहाँका जनतालाई छुन सकेको छैन ।
उदयपुर गढीका स्थानीय भन्छन्, “हिजो पृथ्वीनारायण शाहले एकीकरण गरेको उदयपुर गढी अहिले पनि उस्तै छ, विकासको कुनै काम पनि भएको छैन र खानेपानी लिन पनि दुईघण्टा टाढा जानुपर्ने बाध्यता छ ।”
उदयपुर गढी गाउँपालिका गढीका ७० वर्षीय स्थानीयवासी धनबहादुर मगरकाअनुसार उदयपुर गढी एउटा पूर्वको इतिहास बोकेको स्थान भए पनि यसको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गर्नुहुन्छ ।
इतिहास सम्झँदै उहाँ भन्नुहुन्छ, “राजा उदय सेनको राज्यमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उनी अलप मात्र भएका हुन्, अहिले पनि गढी दरबारपारिको जङ्गलको डाँडामा मध्यदिनमा र रातको समयमा उदय सेनले मादल बजाउने गरेको र मादलको आवाज आउने गरेको प्रत्यक्ष सुन्न सकिन्छ, तर उदयपुर गढी हिजो जस्तो थियो, आज पनि उस्तै छ ।”
राजा उदय सेनको बारेमा जिल्लाका विभिन्न विद्वान्को पनि विभिन्न धारणा रहेको पाइन्छ । उदयपुर गढीका पूर्वशिक्षक इच्छाराम परियारकानुसार सन् १७६० मा उदयपुरको चौदण्डी गढीका राजा विक्रम सेनका भाइ उदय सेन उदयपुर गढीमा चौदण्डीको क्षेत्रीय प्रशासक भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए ।
उदयपुरको नाम पनि उदय सेनले नै आफ्नै नामबाट राखेको र उदयपुर गढीमा दरबार बनाएर शासन शुरु गरेको अर्का पाका बुद्धिजीवी बोधकुमार घिमिरे बताउनुहुन्छ । पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको गढीका ६८ वर्षीय पशुपति खतिवडा बताउनुहुन्छ ।
पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुप सिंह कार्की, अभिमान सिंह बस्नेतलगायतले उदयपुर गढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जङ्गलको ओदारमा लुक्न गए र सोही स्थानमा अलप भएको गढीका जानकारको भनाइ छ ।
उहाँहरुका अनुसार राजा उदय सेन अलप भए । पृथ्वीनारायण शाहका फौजले पक्राउ गर्न र मार्न सकेन । उहाँमा दैविकशक्ति भएका अलौकिक राजाको रुपमा रहेको गढीका जनताको विश्वास छ । उनी अलप भएको जङ्गलबाट अझै पनि मध्य दिनमा र रातमा उदय सेनले बजाएको मादलको मधूरो आवाज अहिले पनि गुञ्जने गरेको जन विश्वास रहीआएको गढीका कर्णबहादुर खड्काको दाबी छ ।
खड्का भन्नुहुन्छ, “इतिहास बोकेको उदयपुर गढीमा अहिले पनि खाने पानीको व्यवस्था छैन । विद्युत् विस्तार हुन नसकेको छैन । सडकका नहुँदा गढीका जनताले उचित सेवा पाउन सकेका छैनन् ।”
उदयपुर गढीलाई १ नं प्रदशेकै ऐतिहासिक पर्यटनस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भए पनि उचित ध्यान पुग्न सकेको छैन । वर्तमान सरकारले यसको महत्व बुझी उचित ध्यान दिएमा गढीका जनता राज्यका लागि उपयुक्त अवसर पनि मिल्ने थियो ।
गढीमा उदय सेनको कुलदेवीको रुपमा रहेको पञ्चावती देवीको मन्दिर पनि जीर्ण छ । गढी क्षेत्रमा पर्यटन विकासको लागि पनि उदय सेनको दरबार परिसरलाई पुरातात्विक विभागले संरक्षणमा खासै चासो नदिएको स्थानीयबासीको गुनासो छ ।
उदयपुर गढी गाउँपालिकाका अध्यक्ष मोहन मगरका अनुसार स्थानीय सरकारले गढी क्षेत्रलाई पर्यटन विकासको लागि योजना तयारी गरेको तर आवश्यक बजेटको अभावमा अहिले सबै कुरा गर्न नसकिने अवस्था रहेको अध्यक्ष मगर बताउनुहुन्छ । अध्यक्ष मगर भन्नुहुन्छ, “यो गढी क्षेत्र उदयपुरको मात्र हैन प्रदेश नं १ र नेपालको नै ऐतिहासिक महत्व बोकेको स्थान हो । यसको पर्यटन विकासमा प्रदेश र केन्द्र सरकारनै लाग्नुपर्ने हुन्छ ।”
