सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

स्याङ्जामा व्यवसायिक सुन्तला खेतिको सुरुवात गर्ने पुतलीबजार नगरपालिका वडा नं. १० का कृष्ण अर्याल । जसले करिव ४० रोपनीमा सुन्तला खेती गर्नु भएको छ । तस्विर: अर्जुनकुमार अर्याल ।

तोलाकान्त बगाले । वालिङ, फागुन २४ : सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रुपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरुमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यावसायीकरण गर्न थालिएको छ ।

पाखो, भिरालो जमीन तथा बारीहरुमा अन्य रुख बुट्यानहरुलाई फँडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमीनहरुलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसानहरु आकर्षित हुँदै गएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन एकाइ अन्तर्गत सुन्तला सुपरजोनका रुपमा घोषणा भएपछि यसको व्यावसायिकता थपिएको हो ।

आर्थिक वर्ष २०७३/७४ मा स्याङ्जा जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरियो । आर्थिक वर्ष २०७५÷७६ को शुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको परियोजना एकाइ कार्यालय स्याङ्जाका कृषि अधिकृत महाप्रसाद पौडेलले बताउनुभयो ।

कृषि अधिकृत पौडेलका अनुसार स्याङ्जाका विभिन्न पालिकाका १७ वटा वडामा कुल एक हजार १५७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा निर्माण गरिएको छ ।

जिल्लाका पुतलीबजार नगरपालिकाका वडा नं १, २, ३, ७, १०, ११, १३ र १४ भीरकोट नगरपालिकाका १, २, ३, ६, ७ र ८, वालिङ नगरपालिकाको वडा नं ४ र अर्जुनचौपारी गाउँपालिकाको वडा नंं. १ र २ गरी कुल १७ वटा वडामा १५५ वटा समूह, सहकारी र उद्यमीहरुसहित कुल तीन हजार १६९ कृषक यो व्यवसायमा आबद्ध रहेका छन् ।

सुन्तला सुपरजोन घोषणा भएसँगै यहाँ स्थलगत तालीमहरु, भकारो सुधार, माटो परीक्षण, बगैँचा व्यवस्थापनसहित हाइटेक सुन्तला नर्सरी स्थापना, ‘कस्टम हायरिङ सेन्टर’ (औजार उपकरण तथा मेसिनरी सामान वितरण), ‘पोष्ट हार्भेस्ट सेन्टर’ (सङ्कलन केन्द्र निर्माण, जुस फ्याक्ट्रीहरु स्थापना, बजारीकरणमा सहयोग, सुन्तलाको ग्रेडिङ) गर्ने कार्यहरु भइरहेका छन् ।

यस वर्ष स्याङ्जामा ६७ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार १८ हजार ६१२ मेट्रिक टन सुन्तला उत्पादन भई जिल्लामा रु ६७ करोड ३२ हजार भित्रिएको हो ।

सुवेदीका अनुसार यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये तीन हजार ७२२ मेट्रिक टन जिल्लाभित्रै खपत भयो भने १४ हजार ८७९ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात भयो ।

आर्थिक वर्ष २०७४÷७५ मा स्याङ्जामा एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ जिल्लामा भित्रिएको थियो । गत आर्थिक वर्ष दुई हजार ९२५ मेट्रिक टन सुन्तला जिल्लाभित्रै खपत भएको थियो भने ११ हजार ७०३ मेट्रिक टन सुन्तला जिल्ला बाहिर निकासी भएको थियो ।

आफ्नो बारीमा फलेका सुन्तला देखाउँदै कृष्ण अर्याल । तस्विर: अर्जुनकुमार अर्याल ।

स्याङ्जामा गत आवको तुलनामा चालु आवमा तीन हजार ९०३ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको र सोको बिक्रीबाट रु बीस करोड १९ लाख ३ हजार बढी आम्दानी भएको छ । गत आवसँग तुलना गर्दा स्याङ्जामा चालु आवमा २७.२३ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बागवानी विकास अधिकृत सुवेदीले बताउनुभयो ।

यस वर्ष एक हजार २४० हेक्टर क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचाबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दरले उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

जिल्लाको पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, विरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका सुन्तला बुटवल, पोखरा र काठमाडौँलगायतका स्थानमा पुग्ने गर्छ । स्वादिलो र अत्यधिक उत्पादनको पहिचान बनाउँदै गरेको स्याङ्जामा सुन्तला खेतीलाई नै प्रमुख बालीका रुपमा अङ्गालेर व्यावसायिकता प्रदान गर्ने सुन्तला व्यवसायीहरु यो व्यवसायबाट पूर्ण सन्तुष्ट रहेको बताउँछन् ।

सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना र धेरै परिणाममा सुन्तला उत्पादन गर्ने केही प्रतिनिधि सुन्तला व्यवसायीहरुमध्येका एक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका फणिनारायण अर्याल हुनुहुन्छ ।

अर्याल आजभन्दा ४० वर्षअघि २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सारेको स्मरण गर्नुहुन्छ । कृषि विषय अध्ययन गर्दा व्यावहारिकतालाई पनि जोड दिने गरिन्छ । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि २०४२ र २०५० सालमा उहाँले थप सुन्तलाका बोट लगाउनुभएको थियो ।

अर्यालको सुन्तला बगैँचा हाल ८० रोपनी क्षेत्रफलमा फैलिएको छ । एक हजार ६०० सुन्तलाका बोट उहाँको बगैँचा छन् जसमध्ये हाल एक हजार १०० ले फल दिन्छन् ।

“मेरो मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो,” सुन्तला व्यवसायी अर्यालले भन्नुभयो – “आठजनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु । यो व्यवसायबाट म पूर्णरुपमा सन्तुष्ट छु ।”

अर्यालले यस वर्ष सुन्तला बिक्रीबाट रु ३६ लाख आम्दानी गर्नुभएको छ । उहाँले गत वर्ष १८ लाख र दुई वर्ष अघि २८ लाख आर्थिक लाभ गर्नुभएको थियो । यस वर्ष सुन्तलाका लागि अनुकूल मौसम भएकाले पनि अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन र आर्थिक लाभ भएको अर्यालको भनाइ छ ।

त्यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट रु २२ लाख आम्दानी गर्नुभएको छ । भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गर्नुभएको हो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् भने यसपटक झण्डै ९०० ले फल दिएको छ । भण्डारीले सुन्तला बिक्रीबाट गत वर्ष १७ लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो ।

“बुवाले ४५ वर्ष अघिदेखि थाल्नुभएको सुन्तला खेतीलाई हामीले थप गरी व्यावसायिक रुपमा अगाडि बढायौं,” भण्डारीले भन्नुभयो – “अहिले हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।”

“बुवा टीकाराम भण्डारीले २०३० सालमा ३५ वटा सुन्तलाका बिरुवा लगाएर थाल्नुभएको व्यवसाय राम्रो हुँदै गयो र हामी तीन भाइ पाँच वर्षपछि मलेसियाबाट फर्केर बुवाले थाल्नुभएको सुन्तला खेतीलाई व्यावसायिक तरीकाले सञ्चालन ग¥यौं,” भण्डारीले भन्नुभयो ।

सुन्तला व्यवसायी कृष्ण अर्यालसँग तस्विर खिचाउँदै पत्रकार टेकनाथ न्यौपाने । तस्विर: अर्जुनकुमार अर्याल ।

सिरौंसामा भण्डारी परिवारले सुन्तलाबाट आम्दानी लिन थालेसँगै त्यहाँ रहेका सबै ४२ घरमा सुन्तलाका बोट रोपिएका छन् । प्रत्येक परिवारले कम्तीमा ५० हजारदेखि बढीमा १७– २२ लाखसम्म आम्दानी गर्छ । भण्डारीका अनुसार यस गाउँबाट मात्रै वर्षेनी झण्डै एक करोड रुपैयाँको सुन्तला बिक्री हुने गर्छ ।

स्याङ्जाको भीरकोट ७ लेलुङ्गामा ‘नेपाल कृषि उद्यम फार्म’ मार्फत सुन्तला व्यवसाय गर्दै आउनुभएका मीनप्रसाद कोइरालाको बगैँचामा अहिले एक हजार ६०० सुन्तलाका बोट छन् ।

घरायसी प्रयोजनमा मात्रै उपयोग हुँदै आएको सुन्तलालाई झण्डै ११ वर्षअघिदेखि व्यावसायिक रुपमा अगाडि बढाउँदै कोइरालाले २७ रोपनी क्षेत्रफलमा बगैँचा विस्तार गर्नुभएको छ । यस वर्ष सुन्तला बिक्रीबाट उहाँलाई रु २२ लाख आम्दानी भयो ।

“मेरो आम्दानीको प्रमुख स्रोत सुन्तला हो भने यही आम्दानीबाट छोराछोरीको शिक्षादीक्षा तथा घरखर्च चलाउने गरेको छु र सुन्तला व्यवसायबाट सन्तुष्ट पनि छु,” कोइरालाले भन्नुभयो ।

लेलुङ्गा गाउँमा हाल १२ घरपरिवार रहेको र उक्त गाउँलाई सुन्तला गाउँको रुपमा विकास गर्न अन्य बुट्यान तथा झाडीहरु फाडेर पाखैभरि सुन्तलाको बगैँचा विस्तारमा सामूहिक रुपमा जुटेको कोइरालाले बताउनुभयो । यस वर्ष यो गाउँबाट दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको व्यावसायिक कृषक समूहका सचिव समेत रहनुभएका कोइरालाले बताउनुभयो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु १० लाख आम्दानी गर्नुभयो । कुल ४५ रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको बगैँचामा हाल ८०० वटा सुन्तलाका बोट छन् भने फल दिने ६०० वटा छन् ।

सुन्तला सुपरजोन सञ्चालन समिति स्याङ्जाका संयोजकसमेत रहनुभएका अर्यालले समूहगत रुपमा मूल्य निर्धारण गरी आलोपालो व्यापारीहरुलाई ल्याएर सुन्तला बिक्रीमा सघाउँदै आउनुभएको छ ।

“मेरो अरु जागीर छैन, प्रमुख बाली भनेको सुन्तला नै हो,” अर्यालले भन्नुभयो – “सुन्तलासँगै कफी पनि लगाएको छु । यसैबाट सम्पूर्ण कारोबार सञ्चालन गरेको छु र मैले अङ्गालेको पेशाप्रति निक्कै सन्तुष्ट छु ।”

विगत ३३ वर्षअघिदेखि नियमितरुपमा सुन्तला बिक्री गर्दै आउनुभएका पुराना सुन्तला व्यवसायी लेखनाथ काफ्ले बाँचुञ्जेल यही व्यवसाय गर्ने अठोट व्यक्त गर्नुहुन्छ । काफ्लेको सुन्तला बगैँचामा हाल २०० बोटहरु छन् ।

उहाँ वर्षेनी सुन्तला बिक्रीबाट तीन÷चार लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । काफ्लेले भन्नुभयो – “अंशबण्डा हुँदा मेरो नाममा पाँच लाख हाराहारीमा सम्पत्ति थियो । तेत्तीस वर्षपछि सुन्तला ब्यवसायले मलाई दश करोड बढीको मालिक बनायो ।”

काफ्ले शिक्षक पेशामा संलग्न भए पनि दुई छोरालाई इन्जिनीयर र तीन छोरीलाई डिग्रीसम्मको अध्ययन सुन्तलाको आम्दानीबाट नै गराउन सफल भएको उहाँको भनाइ छ ।

सुन्तलाका बोट भएका ठाउँमा अरु बिरुवाहरु हुर्कन नदिने, बोटका वरिपरि कोशेबाली लगाउने, मलखादमा विशेष ध्यान दिने, सुन्तलाका बोटमा रोग लाग्न नदिन चुना, नीलोतुथो तथा गोबरको लेपन लगाउने गरेमा सुन्तलाका बोटहरु धेरै समय टिकाउन सकिने उहाँको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal