निःशुल्क बाँड्नुपर्छ स्यानिटरी प्याड

रीता लामा । घोराही, २२ फागुन : पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् ।

एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०÷५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई बेहोर्नुपर्छ । खर्चकै हिसाबले पनि यो महङ्गो पर्छ । वर्षभरि खानै नपुग्ने दुर्गम भेगका महिलाले जे गरेर भए पनि यसको जोहो गर्नैपर्छ ।

दाङको ग्रामीण क्षेत्रमा पर्ने एउटा विद्यालयमा आयोजित सचेतना कार्यक्रमका एक किशोरीले जुरुक्क उठेर भनिन् –“बजारमा कसैले बार्दैनन् । गाउँमा हाम्ले मात्रै किन बार्ने ?” महिनावारी बार्नु कष्टकर छ भन्ने उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । घोराहीकी सामाजिक अभियन्ताकी ११ वर्षीया छोरी पहिलो पटक महिनावारी भइन् । कक्षा ५ मा पढ्दै गरेकी उनलाई महिनावारी के हो थाहा थिएन । न विद्यालयको पाठ्यक्रममा समावेश थियो, न परिवारमा यसबारे कसैले कुरा गरेको उनले सुन्न पाइन् । साथीहरुले यसबारे चर्चा गरेको उनलाई थाहा थिएन । महिनावारी हुने बित्तिकै ती बालिका डरले चिच्याउँदै रोएकी ती अभियन्ताले सुनाइन् ।

अधिकाँशलाई किशोरीलाई महिनावारी हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान हुँदैन । महिनावारी हुँदा स्यानिटरी प्याड कहाँ पाइन्छ ? कति मूल्य पर्छ ? कसरी प्रयोग गर्नुपर्छ ? किन गर्नुपर्छ ? भन्ने जस्ता कुरा हुर्कंदै गरेका किशोरीहरुलाई खासै थाहा हुँदैन । महिनावारीको समय पुगेका बालिकाहरुलाई परिवारको साथ, सहयोग र ढाढसको आवश्यकता पर्दछ । यसबारे स्थानीय तहमै सरकारी स्तरबाट समेत अभियान चलाउनुपर्ने खाँचो छ ।

मनोविमर्शकर्ता सुशीला आचार्यका अनुसार शारीरिक परिवर्तन हुँदै गरेको देखेर अलमलमा रहेका किशोरीहरुमा एकैपटक महिनावारी बेहोर्नु पर्दा एक प्रकारको त्रास सिर्जना हुन्छ । त्यस माथि परिवारले छोइछिटो गर्दा उनीहरु मानसिक एवं सामाजिक रुपमा कमजोर महशुस गर्न पुग्छन् ।

“किशोरीहरुले शरीरमा आएका परिवर्तनका कारण एक्लै बस्न मन गर्ने र भावनात्मक रुपले कमजोर महशुस गर्ने हुन्छ,” उहाँले भन्नुभयो – “शरीरमा भएका परिवर्तनलाई सहज रुपले ग्रहण गर्न सक्ने वातावरण परिवारले दिनुपर्छ । अनि मात्र किशोरीको आत्मबल बढ्छ ।” यस्तो समयमा छुट्टै बसाल्ने र छोइछिटो गर्ने परिपाटी नै गलत उहाँ ठान्नुहुन्छ । परिवारसँगसगै विद्यालयका शिक्षक, साथीहरु र समाजको सकारात्मक व्यवहार पनि किशोरीहरुलाई आवश्यक पर्छ ।

विद्यालयमा पढ्दै गरेका किशोरीहरुलाई विशेष गरी महिनावारीको समयमा आवश्यक पर्ने स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउनुपर्ने उहाँ ठान्नुहुन्छ । “पकेट खर्च नहुने किशोरीहरुले कसरी किन्न सक्छन् यति महङ्गो स्यानिटरी प्याड ?” उहाँ भन्नुहुन्छ – “महिलाको स्वास्थ्य सुरक्षाको दृष्टिले पनि स्यानिटरी प्याडलाई सर्वसुलभ बनाइनुपर्छ ।”

निःशुल्क अभियानमा ओरेक 

महिलालाई अत्यावश्यक मानिएको स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन महिला अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था ओरेक नेपालले अभियान नै सञ्चालन गरेको छ । ओरेकले अहिले जिल्लाका २० वटा सामुदायिक विद्यालयमा प्याड निःशुल्क वितरणको काम थालेको छ ।

स्थानीय तहसँगको सहकार्यमा ओरेकले अहिले घोराही उपमहानगरपालिकाका तीन वटा विद्यालय, तुलसीपुर उपमहानगरका ११ वटा, दंगिशरण गाउँपालिकाका चार वटा र शान्तिनगर गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा यो अभियान थालेको हो । प्रत्येक विद्यालयका ३० जना छात्रा र ५ जना शिक्षकलाई स्यानिटरी प्याड बनाउने तालीम र प्याड बनाउने सामग्री हस्तान्तरण कार्य शुरु गरिएको छ । तालीम पछि बनाइएको प्याड छात्राहरुलाई निःशुल्क वितरणको काम पनि भइरहेको छ ।

यस वर्षदेखि घोराहीको उच्च मावि रझेना, मावि काठेकोहल, मावि तेघरामा पनि कार्यक्रम सञ्चालन गरिएको छ । स्यानिटरी प्याड बनाउने मात्र नभई छात्रालाई त्यसको उपयोग गर्ने तरीका, अपनाउनुपर्ने सावधानी र महिनावारीबारे निःशुल्क परामर्श दिने काम पनि थालिएको ओरेक नेपालका कार्यक्रम संयोजक दीपा अधिकारीले बताउनुभयो ।

प्याड पाएपछि नियमित उपस्थिति 

घोराही उपमहानगरपालिका वडा नं २ मा रहेका माध्यमिक विद्यालय बालपुरमा ओरेकले निःशुल्क प्याड बनाउने तालीम दियो । तालीमसँगै केही सामग्री उपलब्ध गरायो । शिक्षिका र विद्यार्थीहरुले प्याड बनाउन सिके, विद्यालय मै प्याड बनाए र निःशुल्क वितरण गर्ने परिपाटीको शुरुआत गरे । अहिले उक्त विद्यालयमा शिक्षिका र छात्राले निःशुल्क स्यानिटरी प्याड प्रयोग गर्न पाएका छन् ।

विद्यालयकी शिक्षिका उषा गौतम विद्यालयमा स्यानिटरी प्याड निःशुल्क बाड्न थालेपछि छात्रा पनि नियमित विद्यालय आउन थालेको बताउनुहुन्छ । “पहिले पढाइ चल्दाचल्दै महिनावारी भए हामी घर जान्छौं भन्थे, बाध्यताले हामीले पनि जान दिनुपथ्र्याे, उनीहरुको घण्टी छुट्थ्यो,” उहाँले भन्नुहुन्छ – “अब अवस्था फेरिएको छ । अहिले त महिनावारी भयो भन्छन्, प्याड माग्छन् तर, घर जाँदैनन् ।” महिनावारी हुँदा महिनामा ४÷५ दिन नै विद्यालय छोड्ने प्रवृत्ति अहिले रोकिएको छ ।

प्याड वितरण कार्यक्रम शुरु भएपछि छात्राहरु नियमित विद्यालय आउने र आफ्ना कुरा खुलेर राख्ने भएका छन् । विद्यालयको स्रोत केन्द्रभित्र राखिएको प्याड आफैं कसरी निकाल्ने, कसरी प्रयोग गर्ने र कहाँ विर्सजन गर्नेसम्म सिकाएपछि छात्रा स्यानिटरी प्याडको व्यवस्थित प्रयोग गर्न सक्ने भएका छन् । प्याड वितरण कार्यक्रम प्रभावकारी भएकाले विद्यालयमा निःशुल्क प्याडको माग आफूहरुले गरिरहेको उहाँले बताउनुभयो । मावि रझेनाकी छात्रा विपना गिरी सरकारबाटै विद्यालयहरुमा निःशुल्क प्याडको व्यवस्था भए आफूहरुलाई सहज हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “खेलकूदका लागि अनेक सामग्री विद्यालयमा आउँछ । विद्यालयले पनि खेलकूदमा लगानी गर्छ तर, महिलाको स्वास्थ्यसँग जोडिएको प्याडमा लगानी गर्दैन ।”

घरेलु प्याड सस्तो 

एक केजी जाली र १०० रोल कटन कपडाबाट करीव १२५ वटा प्याड बन्छ । बजारमा ८ पिस प्याडलाई १५० रुपैयाँ तिर्नुपर्छ । घरेलु सामग्री प्रयोग गरी ७०० रुपैयाँ खर्चमा १२५ पिस प्याड तयार पार्न सकिन्छ ।

पछिल्लो समय फलाटिन कपडाको प्याड निर्माणको काम पनि विद्यालयहरुमा थालिएको छ जुन कम्तीमा एकवर्षसम्म सरसफाइ गरेर पुनः प्रयोग गर्न सकिन्छ । विद्यालयमा प्याड बनाउने अभियान प्रभावकारी भएको ओरेकले जनाएको छ ।

शुरुशुरुमा विद्यालयमा छात्रा र शिक्षकलाई तालीम दिएर प्याड निःशुल्क उपलब्ध गराए पनि प्रयोग नहुने, छात्रा निःशुल्क प्याड माग्न लजाउने समस्या भए पनि त्यो अब टरेको छ । विद्यालयलाई दिइएको प्याडहरु अब धेरै भन्दा धेरै प्रयोग हुन थालेका छन् ।

निःशुल्क स्यानिटरी प्याड उपलब्ध हुन थालेपछि पहिले पढाइ छोडेर जाने बालिकाहरु पनि पछिल्लो समय विद्यालय मै बस्न थालेको पाइएको छ । मनोविमर्शकर्ता सुशीला आचार्य परम्परागत अभ्यासका कारण महिनावारी भएको अवस्थामा किशोरीहरु मानसिक रुपले कमजोर हुने, परिवारसामु खुलेर आफ्नो समस्या राख्न नसक्ने, एक्लो महशुस गर्ने, चिन्ता गर्ने, डराउने, लाज मान्ने, एक्लै बस्न मन गर्ने जस्ता समस्या देखिने हुन्छ । त्यसलाई विद्यालयमा शिक्षक र घरमा अभिभावकले सही व्यवस्थापन गर्न सक्नुपर्छ । त्यस्तै, शारीरिक रुपमा पनि टाउको दुख्ने, वाक्वाकी लाग्ने, पेट दुख्ने र शरीर कमजोर महशुस हुने लक्षण पनि देखापर्छ ।

लामो समयदेखि परिवार योजना दाङ शाखामा कार्यरत महिला स्वास्थ्यको क्षेत्रमा काम गरिरहनुभएकी वरिष्ठ स्टाफ नर्स प्रभा श्रेष्ठ महिनावारीको समयमा सफा स्यानिटरी प्याडको प्रयोग गर्न सुझाव दिनुहुन्छ । घरमा भएका फोहर कपडा प्रयोग गर्ने, घाममा नसुकाउने, राम्रोसँग नधुने गरेमा यसैको कारणले पनि धेरै किसिमका रोग लाग्न सक्छ ।

महिनावारीको हेलचेक्र्याइँ गरिए चिलाउने, सेतो पानी बग्ने, किटाणु फैलिँदै गएर पाठेघरसम्म असर पार्ने पनि हुनसक्छ । महिनावारीको समयमा उचित सरसफाइ नगर्ने महिलाहरु धेरै समस्या लिएर आफू कहाँ परामर्श लिन आउने गरेको उहाँ बताउनुहन्छ । विशेष गरी अविवाहित महिला र भर्खरै महिनावारी शुरु भएका किशोरीहरुलाई विभिन्न किसिमका समस्या देखापर्छ ।

“बजारमा पाइने स्यानिटरी प्याड निकै महङ्गो छ । आम महिलाको पहुँचमा पर्दैन,” उहाँले भन्नुभयो – “अन्य औषधि जस्तै स्यानिटरी प्याड पनि सरकारले निःशुल्क उपलब्ध गराउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal