पलायनले रित्तो बन्दैछ गाउँ

रिपेश दाहाल । हेटौँडा, २४ पुस : हेटौँडाको एक कार्यक्रममा कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनालले देशमा ३८ प्रतिशत कृषियोग्य जमीन बाँझो रहेको र त्यसलाइ फेरि खनजोत गर्नुपर्ने विचार राख्नुभएकै दिन गढी गाउँपालिका–६ का नवराज घिमिरे एउटा गाडीमा झिटीझ्याम्टा लाद्दैै हुनुहुन्थ्यो । गाउँका छिमेकीहरु सबै गाउँ छाडेर गएपछि उहाँको परिवार गाउँमा लगभग एक्लो हुन पुग्यो । यसरी गाउँमा एक्लिनु परेपछि आफू पनि गाउँ छाड्न बाध्य भएको उहाँको दुःखेसो थियो । गाउँको झण्डै ३० रोपनी जग्गा छोडेर काठमाडौँको कुनै नर्सरीमा काम गर्ने गरी जान लाग्नुभएका घिमिरेले भन्नुभयो – “गाउँमा छिमेकी नै नभएपछि कसरी बस्नु ?”

घिमिरेका अनुसार उहाँको परिवार पनि बसाइँ सरेपछि सिमसार भन्ने यस गाउँमा अब तिमल्सिना बाको एक्लो घर मात्रै हुनेछ ।
गढी–६ को सिमसार भन्ने गाउँमा केही वर्ष अघिसम्म पनि चार÷पाँच घरको ढकाल टोल, तीन÷चार घरको आचार्य टोल, त्यति नै सङ्ख्याका घिमिरे टोल, तिमल्सिना टोल जस्ता स–साना टोलसहितको रमाइलो गाउँ थियो भन्नुहुन्छ छिमेकी गाउँका वृद्ध कृष्णप्रसाद तिवारी । तर, आज भीमप्रसाद तिमल्सिना र कृष्णप्रसाद घिमिरे बाहेक कसैको पनि गाउँमा बसोबास छैन । बस्ती नभएपछि र नियमित मर्मत सम्भार हुन नपाएपछि ठूला गाडीहरुसमेत चलिसकेको बाटोमा आजभोलि मोटरसाइकलसमेत लान सकिँदैन ।

हिजो धान, मकै, गहँु, कोदो, तोरी, मास, भटमास जस्ता अन्नबाली मात्र होइन निबुवा, कागती, बोडी, सिमी, आलु, प्याज तथा राजमा जस्ता नगदे तरकारी बालीहरु प्रशस्तै लगाउन सकिने ठाउँमा आज बहिर्गमनका कारण सिर्जित जैविक असन्तुलनले उत्पादन लगभग शून्य भएको छ । अन्नबाली उम्रन्छन् तर वन कुखुरा तथा चराचुुरुङ्गीबाट जोगाउन सकिन्न । फलेका फल मृग, बाँदर, स्याल तथा बँदेलहरुबाट जोगाउन सकिन्न । “लोकल कुखुरा खोरबाटै स्यालले झिकेर लान्छ, बाँदरहरु घरभित्र छिर्छन्, अनि गाउँमा बसेर के गर्नु ?,” घिमिरे भन्नुहुन्छ ।

गाउँका सबै बसाइँ सरेर आफ्नो परिवार एक्लिनु परेपछि उहाँको परिवारले पनि बसाइँ सर्ने निर्णय ग¥यो । “नजीकको गाउँ बाग्दलीमा घर बनाउँदै छौं, अब त्यतै सर्ने हो, खेतबारीबाट पनि आम्दानी छैन, कमाउन त प¥यो भनेर आफन्तको नर्सरीमा काम गर्ने गरी काठमाडाँैं जान लाग्या,” उहाँले प्रष्ट्यानुभयो । केही वर्ष वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबको आल्माराई कम्पनीमा काम गरेपछि उहाँलाई नेपालमै गएर पशुपालन गर्न मन लाग्यो । उहाँले भन्नुभयो – “म पशुपालन गर्न भनेरै समय भन्दा अघि नेपाल आ’को तर, गाउँ नै खाली देखेपछि व्यवसाय गर्न मनै लागेन ।” नवराज घिमिरे मात्र हैन उहाँको आफ्नै भाइ सुदर्शन घिमिरे पनि इजरायलमा एक वर्ष कृषिसम्बन्धी अध्ययन गरेर यहीँ कृषिमा केही गर्न सकिन्छ कि भनेर आए । काम गर्ने वातावरण नपाएपछि अब सोचै बदलिएको उहाँ बताउनुहुन्छ । साँच्चै नै सिमसारको हालत त्यस्तै छ । हिजो ५० घर भएको गाउँमा आज एक घर छ । दुई किलोमिटरको दूरीमा बल्ल एक घर भेटिन्छ । झण्डै झण्डै जङ्गलको बीचमा घर हुन पुगेको छ । अब त्यहाँ केवल हिजो गाउँ थियो भन्ने चिन्ह मात्रै जीवित छ । हिजो बालकहरुले खेल्न बनाएका चौरहरु, विभिन्न खेल खेल्न बनाएका डोबहरु, खेलौना गाडी कुदाउने सडक सबै छन् तर निर्जीव झै छन् । युवाले भलिबल खेल्न बनाएका मैदान वर्षौं नजोतिएको बारीका पाटा झैंं भएका छन् । बूढापाकाहरु सुस्ताउन बनेका चौतारीहरु छन् तर लेउ लागेका । कुवा छ तर, वनमाराले ढाकिएको । घरहरुका अवशेष लगभग विलीन हँुदैछन् । खेतका गराहरुमा खर र घाँसहरु फुलिरहेका छन् । अर्थात, धानबारीहरु लगभग खरघारी बनिसकेको छ । छिमेकी गाउँका वृद्ध कृष्णप्रसाद तिवारीले भन्नुभयो – “ऊ त्यो खरघारीे भा’को जग्गा रामशरणको हो । उसको अहिले हेटौँडामा मासु पसल छ । अनि, माथिपट्टि थोत्रो घर देखियो नि ! त्यो चाहीँ ढकाल्नी यशोदाको हो । त्यहाँ ढकालहरुको तीन÷चार वटा घर थियो । अहिले कोही पनि बस्दैनन् ।”

गाउँका डिल्ली चौलागाईं, रामशरण घिमिरे, गोकुल आचार्य, रमेश आचार्य, कृष्ण आचार्य, राजु तिमल्सिना, यशोदा ढकाल, मानबहादुर तिमल्सिना, बद्री ढकाल, अर्जुन घिमिरे, ठाकुर ढकाल, गोविन्द घिमिरे, केशव ढकाल, शंकर ढकाललगायत थुप्रैको बसोबास गाउँमा छैन । घिमिरेका अनुसार कतिपय सुविधा खोज्दै हेटाँंैडा, काठमाडौँ, चितवन गए भने कतिपय स्थानीय गाउँ बाग्दली, भालुखोला, धादिङ्गटोल बसाइँ सरेका छन् । सिमसार त एउटा प्रतिनिधि गाउँ मात्र हो । मकवानपुरगढी गाउँपालिकाका अधिकाँश दुर्गम वडाको हालत यस्तै छ । गाउँपालिकाका बुढीचौर, सुकौरा, आँपटार, आमभञ्ज्याङ्गलगायतका बस्तीमा अहिले थुप्रै घरहरु खाली भैसकेका छन् ।

यी सबै समस्याहरु मकवानपुरगढी गाउँपालिकाले नजीकबाट नियालिरहेको बताउनुहुन्छ, गाउँपालिका अध्यक्ष विदुर हुमागाईं । उहाँ भन्नुहुन्छ – “म गाउँमा समस्या भएर मानिसहरु बसाइँ सरेका कुरामा विश्वास गर्दिनँ । बरु मानिसहरु बसाइँ सरिदिँदा गाउँमा समस्या भएको हो ।” उहाँका अनुसार बढी जसो वैदेशिक रोजगारमा गएकाहरुले आफ्नो परिवारलाई शहरमा सारेका छन् । बच्चाबच्चीहरुलाई पढाउने बहानामा पनि कतिपय शहर पसेको उहाँको भनाइ छ । तर, कुनै पनि बहानामा गाउँ छाड्नुपर्ने बाध्यात्मक अवस्था नरहेको उहाँ बताउनुहुन्छ । आफैंले फलाएको ताजा तरकारी, फलफूलहरु खाएर स्वच्छ वातावरणमा जीवन बिताउनु पर्नेमा मानिसहरु गाउँ छाड्दै हिँडिरहेकामा आफूलाई अनौठो लागेको बताउनुहुन्छ अध्यक्ष हुमागाईं ।

उहाँ भन्नुहुन्छ – “हामीले गाउँ गाउँमा सडक पु¥याएका छौं । खानेपानी, बिजुली, सिँचाइ गाउँलेहरुको जे जे माग छ, सक्दो सम्बोधन गरिरा’छौं । यति हुँदाहँुदै पनि मानिसहरु आफ्नो जन्म र कर्म भूमिलाई किन माया मारिरहेका छन्, मैले बुभ्mन सकेको छैन ।” उहाँ अगाडि भन्नुहुन्छ – “म गाउँपालिकावासीलाई अनुरोध गर्छु कि तपाईहरुं गाउँमै बस्नुस्, के खेती गर्ने हो गर्नुस्, बाख्रापालन गर्नुस्, फलफूल खेती गर्नुस् । त्यसमा गाउँपालिका जस्तोसुकै सहयोग गर्न तयार छ ।”

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal