बिजुली र पर्यटनमा इन्द्र सरोवरको योगदान

मकवानपुरको कुलेखानीस्थित जलाशय अर्थात इन्द्रसरोवर । जलाशयबाट कुलेखानी प्रथम जलविद्युत आयोजनाले ६० मेगावाट विद्युत उत्पादन गरिरहेको छ । तस्वीर: तीर्थ भट्टराई

तीर्थ भट्टराई । कुलेखानी,४ कात्तिक : कुलेखानी जलाशय अर्थात् इन्द्रसरोवर । मानवनिर्मित यस तालले देशलाई उज्यालो पार्नमा योगदान त वर्षौंदेखि दिएको छ नै, त्यसमाथि यहाँ आइपुग्ने जो कोहीलाई पनि मनै उज्यालो पार्ने गरी शीतलता र शान्ति पनि दिँदै आएको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा निर्मित यस तालबाट कुलेखानी–१ जलविद्युत् आयोजना सञ्चालन गर्न सहयोग पुगेको छ भने ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ । यसै तालको पानीबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । अझ यहाँबाटै गएको पानीबाट सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा योगदान पु¥याउने भएका छन् ।

वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जङ्गलले घेरिएको सफा नीलो पानीको यस दहले यहाँ आइपुग्ने प्रायः आन्तरिक पर्यटकलाई मन्त्रमुग्ध पार्छ । शहरी कोलाहलबाट त्यहाँ पुग्ने सबैलाई यसको शान्त अवस्थिति, परिवेश र जङ्गलले शीतलता र शान्तिको अनुभूति गराउँछ ।

इन्द्रसरोवरको लम्बाइ आठ किमी र गहिराइ करीब ९७ मिटर छ । यो ताल २०३८ सालमा बनेको हो । त्यसयता यसले अनवरत ६० मेवा (अधिकतम क्षमतामा) विद्युत् उत्पादन गरिरहेको छ । शनिबार बिहान ११ बजे सरोवरको पानीको सतह १५२५.६९ मिटर रहेको बताउँदै प्राधिकरण कुलेखानी बाँध क्षेत्रस्थित एकाइमा कार्यरत इलेक्ट्रिसियन सन्तोषकुमार विष्ट भन्नुहुन्छ, “बढी र घटी पानीले हाल त केही फरक पर्दैन, क्षमता त उही ६० मेवा नै हो तर सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ ।

उहाँले कुलेखानीकै पानीबाट नै भैँसेमा ३० मेवाको कुलेखानी दोस्रोबाट विद्युत् उत्पादन गरिएको तथा सानुटार (मकवानपुरको सुपारेटार नजीक) १४ मेवाको काम भइरहेको जानकारी दिनुभयो । सम्भवतः आगामी छ महीनामा त्यहाँबाट पनि विद्युत् उत्पादन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कुलेखानी बाँधबाट छ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ । तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पनि पुग्छ । सो अवस्थामा पानीको गहिराइ १०७ मिटर हुन्छ ।

ताल कुलेखानी खोलालाई छेकेर बनाउँदा आठ किमी लामो बनेको छ । मार्खुसम्म पुग्ने उहाँले प्रष्ट पार्नुभयो । तालको बाँधको उचाइ भने ११४ मिटर छ । यस आयोजनाबाट विद्युत् उत्पादनपछि सो पानी माण्डुमा निस्कन्छ ।

ताल ज्यादै मनोरम र सफा नीलो पानी हुनाले यहाँ आन्तरिक पर्यटक प्रशस्तै आउने गर्छन् । शनिबार दशैँको बिदा परेकाले चहलपहलमा केही कमी देखिए पनि आगन्तुक धेरै नघटेको बाँधक्षेत्रको कलङ्कीस्थित कुलेखानी भ्यू होटलका सञ्चालक विकास बलामी बताउनुहुन्छ । खासगरी शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटक खचाखच हुन्छन् ।

यहाँ कुलेखानीको माछा पनि पाइने तर माछा भने मत्स्य व्यवसायी सङ्घमार्फत मात्र माछा मार्ने र संस्थामार्फत नै बिक्री हुने बलामीले जानकारी दिनुभयो । सङ्घमार्फत बिक्री हुने माछा बिगहेड र सिल्भर कार्प रु २५० प्रति केजी र कमन तथा ग्रास कार्पको रु २७५ प्रतिकेजीमा बिक्री हुने गरेको छ ।

तालका किनारको जङ्गली बाटोभरी युवा तथा शिशुसहित टाढा टाढाबाट आएका दम्पती तालको तस्वीर तथा सेल्फी खिंचिरहेका भेटिन्छन् । काठमाडौँ महाराजगञ्ज बस्ने वचन राईले ताल सुन्दर, शान्त र मनमोहक भएकाले साथीसँगै घुम्न आएको बताउनुभयो ।

यहाँ आउने आन्तरिक पर्यटक प्रायःजसो मोटरसाइकल तथा निजी सवारीमा आउँछन् । खास बाँधनिर नेपाली सेनाको राजदल गण क्युवेक ब्याट्रीले पहरा दिइरहेकाले त्यहाँ भने तस्वीर खिंच्न मनाही गरिँदा केही असजिलो महसुस गरिए पनि अन्यत्रबाट तालको तस्वीर राम्रैसँग लिन सकिन्छ ।

यहाँ समूहमा आउने तथा वनभोज खान चाहनेलाई भने भिरालो जमीन भएकाले अलि असहज छ । वनभोजका लागि केही सीमित स्थान भए पनि त्यत्ति व्यवस्थित नभएको बलामीले बताउनुभयो । आगन्तुकका लागि स्थानीयस्तरका धेरै कम होटल मात्र ताल किनाराको कलङ्की भन्ने स्थानमा छन् जहाँ खाजा तथा खाना उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal